युनिलिभर नेपालको लाभांश ५ वर्षदेखि लिन आएनन् लगानीकर्ता, लिन आउन आग्रह
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षअघि घोषणा गरेको प्रतिफल अझै पनि धेरै लगानीकर्ताहरूले नबुझेको पाइएको छ । कम्पनीले आफ्नो २७औं वार्षिक साधारणसभाबाट पारित गरेको लाभांशमध्ये केही हिस्सा शेयरधनीहरूले हालसम्म पनि संकलन नगरेपछि अहिले सार्वजनिक सूचनामार्फत पुन: ताकेता गरिएको हो ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ को मात्रै ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश रकम लामो समयदेखि भुक्तानी हुन नसकी थन्किएर बसेको छ । यो रकम दाबी गर्नका लागि सम्बन्धित शेयरधनी वा उनीहरूका हकवालाहरू अहिलेसम्म सम्पर्कमा नआएको कम्पनीले जानकारी दिएको छ ।
आफ्नो बाँकी रहेको लाभांश बुझ्न चाहने लगानीकर्ताहरूले अबको ३० दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । यसका लागि शेयरधनीहरूले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा रहेको शेयर रजिष्ट्रारको कार्यालयमा आफ्नो शेयर प्रमाणपत्र र परिचय खुल्ने आधिकारिक कागजातसहित उपस्थित हुनुपर्ने व्यवस्था मिलाइएको छ ।
यदि तोकिएको एक महिनाको समयसीमाभित्र पनि लगानीकर्ताहरूले रकम दाबी नगरेमा उक्त रकम ’लगानीकर्ता संरक्षण कोष’ मा पठाइने कम्पनीले स्पष्ट पारेको छ । कम्पनी ऐन, २०६३ को दफा १८३ मा उल्लेख भए बमोजिम यस्तो रकम कोषमा जम्मा हुने भएकाले आफ्नो लगानीको प्रतिफल सुरक्षित गर्न कम्पनीले सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।













