९ महिनामा बैंकहरूको १ खर्ब ४२ अर्बको ‘नेट इन्ट्रेष्ट इनकम’: कसैको झोली भरिँदा कसैको घट्यो साख
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका लागि चालु आर्थिक वर्ष उतारचढावपूर्ण देखिएको छ । अर्थतन्त्रमा देखिएको शिथिलता र कर्जा प्रवाहमा आएको सुस्तताका बाबजुद सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आफ्नो मुख्य व्यवसाय अर्थात् ‘खुद ब्याज आम्दानी’ (नेट इन्ट्रेष्ट इनकम) मा सामान्य सुधार गरेका छन् ।
चैत मसान्तसम्मको नौ महिने वित्तीय विवरण अनुसार यी बैंकहरूले कुल १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको यो आम्दानी समग्रमा २.०९ प्रतिशतले मात्र बढी हो । गत वर्ष चैतसम्ममा बैंकहरूले १ खर्ब ३९ अर्ब ७६ करोड ६६ लाख ६ हजार रुपैयाँ यस्तो आम्दानी गरेका थिए ।
तथ्याङ्कलाई मिहिन ढंगले केलाउँदा के देखिन्छ भने केही बैंकहरूले व्यवसाय विस्तारमा आक्रामक रणनीति अपनाउँदा उनीहरूको आम्दानीमा उल्लेख्य चमक देखिएको छ भने केही स्थापित र पुराना बैंकहरू भने आफ्नो साख जोगाउन संघर्षरत देखिएका छन् ।
बैंकहरूको नाफाको मुख्य आधार नै खुद ब्याज आम्दानी भएकाले यसमा देखिएको सुस्त वृद्धिले समग्र बैंकिङ क्षेत्र अझै पनि दबाबमुक्त भइनसकेको संकेत गर्दछ ।

नबिल र ग्लोबल आईएमईको टक्कर: कसले मार्यो बाजी ?
बैंकिङ बजारमा सधैँ चर्चाको केन्द्रमा रहने नबिल बैंक र ग्लोबल आईएमई बैंकबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक देखिएको छ । व्यवसायिक आकार र नेटवर्कका हिसाबले यी दुई बैंकबीच ‘नम्बर १’ बन्ने होडबाजी चलिरहँदा खुद ब्याज आम्दानीमा भने नबिल बैंकले आफ्नो अग्रता कायमै राखेको छ ।
चैत मसान्तसम्ममा नबिल बैंकले १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दै सूचीको शीर्ष स्थान ओगटेको छ । यो गत वर्षको तुलनामा ३.३६ प्रतिशतको वृद्धि हो ।
नबिललाई पच्छ्याइरहेको ग्लोबल आईएमई बैंकको आम्दानी भने यसपटक केही खुम्चिएको छ । गत वर्ष १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ कमाएको ग्लोबलले यस वर्ष ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा चित्त बुझाउनुपरेको छ । जुन ३.५१ प्रतिशतको गिरावट हो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ भने कुमारी बैंक ९ अर्ब ३० करोड २२ लाख रुपैयाँसहित चौथो स्थानमा उक्लिएर बजारलाई अचम्मित पारेको छ ।
यसको ठीक विपरित केही बैंकहरूको आम्दानी भने निकै न्यून देखिएको छ । सबैभन्दा कम आम्दानी गर्नेमा विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यसले ९ महिनामा २ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतभन्दा बढीको गिरावट हो ।
यस्तै, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंक पनि न्यून आम्दानी गर्ने बैंकको सूचीमा परेका छन् । नेपाल एसबीआईको आम्दानी ३ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ र माछापुच्छ्रेको ४ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ मात्र रहेको छ ।
ग्रोथमा सरकारी बैंक र सानिमाको छलाङ, एनआईसी एसियाको ठूलो गिरावट
आम्दानीको अंक जतिसुकै भए पनि बैंकको प्रगति मापन गर्ने कडी भनेको ‘ग्रोथ’ अर्थात् वृद्धिदर हो । यो नौ महिनाको अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले वृद्धिदरमा सबैभन्दा ठूलो छलाङ मारेको छ ।
वाणिज्य बैंकले आफ्नो खुद ब्याज आम्दानीमा २२.५८ प्रतिशतको लोभलाग्दो वृद्धि गर्दै ८ अर्ब ७० करोड ८७ लाख रुपैयाँ पुर्याएको छ । सरकारी बैंकको यो आक्रामक सुधारले निजी क्षेत्रका बैंकहरूलाई चुनौती दिएको प्रस्ट हुन्छ ।
त्यस्तै, निजी क्षेत्रको सानिमा बैंकले पनि २०.४८ प्रतिशतको उच्च वृद्धिदर हासिल गर्दै ५ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको छ । मर्जरपछिको एकीकृत व्यवसायमा आक्रामक बनेको कुमारी बैंकको १७.८० प्रतिशत र एनएमबि बैंकको १३.६८ प्रतिशतको वृद्धि पनि उत्साहजनक छ । कृषि विकास बैंकले पनि १०.६९ प्रतिशतको वृद्धिदर कायम गर्दै ६ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी जोहो गरेको छ ।
तर, वृद्धिदरको तथ्याङ्कलाई हेर्दा केही बैंकहरूका लागि यो वर्ष बिर्सनलायक देखिएको छ । विशेषगरी कुनै समय निकै आक्रामक व्यवसाय गर्ने एनआईसी एसिया बैंकको साखमा यसपटक ठूलो धक्का लागेको छ ।
यस बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ । यो २० वटा बैंकमध्येकै सबैभन्दा खराब गिरावट हो ।
त्यस्तै, हिमालयन बैंकको ११.८७ प्रतिशत र ग्लोबल आईएमईको ३.५१ प्रतिशतको गिरावटले ती बैंकहरूको व्यवसाय व्यवस्थापनमा चुनौती थपिएको संकेत गर्छ । सिटिजन्स र लक्ष्मी सनराइज बैंकको आम्दानीमा पनि सामान्य गिरावट देखिएको छ ।
निक्षेपको ब्याजदर घट्नु र कर्जाको मागमा सोचेजस्तो सुधार नहुनुले बैंकहरूको खुद ब्याज आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ । ब्याज खर्च घटाउन सफल भएका र खराब कर्जा व्यवस्थापनमा चनाखो देखिएका बैंकहरूले आम्दानी बढाउन सकेका छन् भने पुराना र ठूला भनिएका केही बैंकहरूलाई आफ्नो पोर्टफोलियो जोगाउनै धौ–धौ परेको देखिन्छ ।
यो तथ्याङ्कले आगामी दिनमा बैंकहरूले केवल निक्षेप र कर्जाको अंक बढाउने मात्र नभई, गुणस्तरीय व्यवसायमा ध्यान दिनुपर्ने पाठ सिकाएको छ ।
वाणिज्य बैंकहरूको यो ९ महिने रिपोर्ट कार्डले आगामी असार मसान्तसम्मको अन्तिम वित्तीय विवरण कस्तो होला भन्ने एउटा संकेत त दिएको छ । तर अर्थतन्त्रको आगामी दिशा र नेपाल राष्ट्र बैंकको नीतिले यसमा थप फेरबदल ल्याउने निश्चित छ ।













