सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्दै कालंगा हाइड्रो
काठमाडाैं । कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया सुरु गर्ने भएको छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर छुट्याएर बाँडफाँट गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता स्थानीयका लागि, ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीहरूका लागि यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ।
अहिले सर्वसाधारणका लागि भने कुल २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याउन लागिएको हो। यो शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरूले यसमा सहभागी हुन दोस्रो चरणको निष्काशन प्रक्रिया अन्तर्गत आवेदन दिनुपर्नेछ।
यस आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्काशन प्रक्रिया छिटोमा जेठ १३ गते बन्द हुनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा जेठ २२ गतेसम्म आवेदन दिने म्याद रहनेछ।
















