प्रविधिमैत्री बन्दै भन्सार: टिआईभी घोषणाका लागि सञ्चालनमा आयो आधुनिक डिजिटल पोर्टल 'एनएसडब्ल्यु' - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

प्रविधिमैत्री बन्दै भन्सार: टिआईभी घोषणाका लागि सञ्चालनमा आयो आधुनिक डिजिटल पोर्टल ‘एनएसडब्ल्यु’



काठमाडौं । भन्सार विभागले आफ्नो कार्यप्रणालीलाई पूर्ण रूपमा प्रविधिमैत्री र आधुनिक बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।

विभागले भन्सार प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउने उद्देश्यका साथ ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ (एनएनएसडब्लु) पोर्टल मार्फत ‘टिआईभी’ घोषणा गर्न सकिने नयाँ व्यवस्थाको सुरुवात गरेको हो।

विभागको सूचना प्रविधि प्रणाली समन्वय तथा विकास शाखाले जारी गरेको पछिल्लो निर्देशन अनुसार, गत वैशाख १७ गतेको निर्णय बमोजिम यो अनलाइन प्रणालीलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याइएको छ। यसअघि भन्सार प्रक्रियामा रहेका झन्झटहरूलाई कम गर्न र सेवाग्राहीलाई आधुनिक प्रविधिको सुविधा प्रदान गर्न यो डिजिटल पोर्टल सञ्चालनमा ल्याइएको विभागको भनाइ छ।

यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै अब सेवाग्राहीहरूले टिआईभीसँग सम्बन्धित सम्पूर्ण घोषणाहरू अनलाइन पोर्टलको प्रयोग गरी घर वा कार्यालयबाटै सजिलै गर्न सक्नेछन्। यसले भन्सारमा हुने कागजी प्रक्रियालाई कम गर्नुका साथै सेवा प्रवाहमा हुने ढिलाइलाई समेत न्यून गर्ने अपेक्षा गरिएको छ।

भुक्तानी प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन विभागले दुईवटा विकल्पहरू अघि सारेको छ। सेवाग्राहीले आफ्नो अनुकूलता अनुसार भौतिक रूपमा उपस्थित भई वा विद्युतीय भुक्तानी (ई-पेमेन्ट) को माध्यमबाट शुल्क बुझाउन सक्ने व्यवस्था मिलाइएको छ। विद्युतीय भुक्तानीको प्राथमिकताले भन्सार राजस्व संकलन प्रक्रियालाई अझ सुरक्षित र व्यवस्थित बनाउने विश्वास लिइएको छ।

विभागले देशभरका सबै भन्सार कार्यालयहरू तथा मातहतका निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि टिआईभीसँग सम्बन्धित सबै नियमित कामहरू अनिवार्य रूपमा यही नयाँ पोर्टल मार्फत मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। यसका लागि विभागको आधिकारिक वेबसाइटमा आवश्यक लिङ्क र विवरणहरू समेत उपलब्ध गराइएको छ।


प्रतिक्रिया दिनुहोस्