बजेट अधिवेशन आजदेखि सुरु, राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने
काठमाडाैं । आज (सोमबार) देखि सङ्घीय संसदमा बजेट अधिवेशन सुरू हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
नेपालको संविधानको धारा ९५ मा रहेको व्यवस्था बमोजिम राष्ट्रपतिले आज अपराह्न ४ः०० बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। संविधानले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र हरेक वर्षको सुरुवाति अधिवेशन (बजेट अधिवेशन) को प्रारम्भमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने संवैधानिक बाध्यता तोकेको छ।
राष्ट्रपतिबाट सम्बोधन हुने यस विशेष बैठकका लागि सम्पूर्ण सांसदहरूलाई ३ः४५ बजेभित्रै हलमा उपस्थित भइसक्न सचिवालयले आग्रह गरेको छ।
संयुक्त बैठक अगावै आज दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन्। प्रतिनिधिसभाको सुरुवाति बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ।
त्यसपश्चात्, पछिल्लो समय भएको मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचनाका बारेमा सदनलाई आधिकारिक जानकारी दिने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन तथा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २६० अनुसार जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गरिनेछ। यसका साथै, नियमावलीको नयाँ मस्यौदा समेत सदनमा प्रस्तुत गरिने तयारी छ।
यो अधिवेशनको अर्को महत्त्वपूर्ण पक्ष सरकारले जारी गरेका आठवटा विभिन्न अध्यादेशहरूको प्रस्तुति रहनेछ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश २०८३ लगायतका विषयहरू समावेश छन्। यी सबै अध्यादेशहरू आजै दुवै सदनमा टेबल गरिनेछ ।













