टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम अवसर
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुल्ला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि निष्काशन सुरु गरेको यस आईपीओमा लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अहिले बाँकी रहेको कित्ताहरू सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले आफ्नो कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही योजनाअनुरूप कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयरमध्ये स्थानीय बासिन्दालाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता शेयर वितरण भइसकेको छ । त्यस्तै, सामूहिक लगानी कोष र कर्मचारीका लागि समेत शेयर छुट्टाएर बाँकी रहेको अंश अहिले बजारमा आएको हो ।
यस आईपीओमा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि माग गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ’केयरएनपी डबल बी प्लस’ रेटिङ्ग दिएको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको बुझाउँछ । प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्काशनमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ’मेरो शेयर’ मार्फत सजिलै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
















