आईपीओ निष्काशन गर्दै यती एअरलाईन्स, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आईपीओ निष्काशन गर्दै यती एअरलाईन्स, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त



काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ।

कम्पनीले आफ्नो साधारण शेयरहरु निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

धितोपत्र निष्काशन सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै एयरलाइन्सलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई सर्वसाधारणमा शेयर जारी गर्ने बाटो खुलेको छ।

आन्तरिक हवाई सेवामा लामो अनुभव सँगालेको यती एयरलाइन्स नेपालका प्रमुख निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवालाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएको छ। हाल यसले देशका प्रमुख शहरी क्षेत्रदेखि दुर्गम गन्तव्यहरूमा समेत नियमित उडान भर्दै आएको छ।

नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न यती एयरलाइन्सले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। आधुनिक विमानहरू र दक्ष जनशक्तिमार्फत सेवा दिइरहेको यो कम्पनीले आईपीओ निष्काशन गरेपछि प्राप्त हुने पूँजीलाई सेवा विस्तार र कम्पनीको सुदृढीकरणमा उपयोग गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्