भारतीय वीआईएस लाइसेन्स समस्या तत्काल सुल्झाउन मोरङ व्यापार संघको माग - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

भारतीय वीआईएस लाइसेन्स समस्या तत्काल सुल्झाउन मोरङ व्यापार संघको माग



विराटनगर । भारत सरकारले नेपाली उत्पादन निर्यातका लागि अनिवार्य गरेको ‘ब्यूरो अफ इण्डियन स्टाण्डर्ड’ (वीआईएस) लाइसेन्स नवीकरण र नयाँ इजाजत जारी गर्न ढिलासुस्ती गरेपछि नेपाली उद्योगहरू समस्यामा परेका छन्।

लाइसेन्स प्रक्रियामा भएको ढिलाइका कारण नेपालबाट भारततर्फ हुने निर्यात ठप्प भएको भन्दै मोराङ व्यापार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

भारतीय पक्षको यो व्यवहारका कारण नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित हुन गएकोले यस समस्यालाई निराकरणार्थ नेपाल सरकारलाई भारत सरकारसँग तत्कालै कूटनीतिक पहल गर्न माग गरेको छ ।

भारतीय पक्षले नेपाली निर्यातकर्ताहरुका वीआईएस लाइसेन्स नवीकरण नगर्दा तथा नयाँ लाइसेन्स जारी गर्न आनाकानी/ढिलासुस्ती गर्दा भारतीय बजारमा नेपाली उत्पादनहरुको निर्यात अवरोध हुन गएको छ । विशेष गरीफरेन म्यान्युफ्याक्चरर सर्टिफिकेसन स्किम अन्तर्गत नेपाली उद्योगका हकमा आवेदन, निरीक्षण, परीक्षण र स्वीकृतिका सम्पूर्ण चरणहरुको समयसीमा स्पष्ट रुपमा निर्धारण नगरिएको अवस्था छ जस कारण दुई देशबीचको द्विपक्षीय व्यापार प्रभावित भएको छ ।

यस सम्बन्धमा आज यस संघबाट उद्योग विभागका महानिर्देशक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्राचार गरी भारतीय पक्षको सो नन टेरिफ वेरियर (गैर–भन्सार अवरोध)ले नेपालका निर्यातजन्य उद्योग/व्यवसायहरु प्रत्यक्ष आर्थिक क्षति पुर्‍याई रहेको व्यहोरा अवगत गराई त्यस प्रकारको अवरोधलाई तत्कालै अन्त्य गराउन माग गरिएको छ ।

सरकारले तत्काल कूटनीतिक च्यानल प्रयोग गरी यस विषयलाई सम्बोधन नगरे नेपाली उद्योगहरु धराशायी हुने अवस्था आउन सक्ने तथा नेपाली उद्योगीहरुले भारतसँगको व्यापार घाटा कम गर्न निर्यात सहजीकरण नै प्रमुख उपाय भएको हुँदा यस्ता सानातिना प्राविधिक समस्याहरुलाई प्राथमिकताका साथ सुल्झाउन र भविष्यमा समेत त्यस्ता अवरोधहरु दोहोरिन नदिन भारतसँग उच्च र नीतिगत तहमा ठोस वार्ता गरी स्थायी संयन्त्र निर्माण गर्न नेपाल सरकार समक्ष यो संघ जोडदार माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्