छुट्ला है स्नो रिभर्सकाे आईपीओ, आज आवेदन दिने अन्तिम मौका
स्नो रिभर्स लिमिटेडको आईपीओमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने ढिला नगर्नुहोस्! कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (जेठ १ गते) अन्तिम दिन रहेको छ।
गत बैशाख २९ गतेदेखि बिक्री खुला गरिएको यो आईपीओ बैंकिङ समयपछि बन्द हुनेछ।
कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ बराबरको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। त्यसैगरी, कम्पनीले ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि समेत सुरक्षित गरी बाँडफाँट गरिसकेको छ।
अहिले दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको हो।
यो आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने आफ्नो सामर्थ्य अनुसार अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
















