बैशाखको ’रातो’ राप: २१ दिनमा नेप्सेले गुमायो १०३ अंक, लगानीकर्ताको मनोबलमा ब्रेक
काठमाडौं । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सेयर बजारमा उत्साह छाउने अपेक्षा गरिए पनि बैशाख महिना लगानीकर्ताका लागि भने त्यति सुखद रहेन । चैत मसान्तमा २८३३.६ विन्दुमा अडिएको नेप्से परिसूचक बैशाखको अन्तिम कारोबार दिनसम्म आइपुग्दा १०३.४३ अंकले ओरालो लागेर २७३०.१७ विन्दुमा खुम्चिएको छ ।
महिनाभरको कारोबारलाई नियाल्दा बजारले सुधारको संकेत भन्दा पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको देखिन्छ । जसले गर्दा आम लगानीकर्ताको मनोबलमा केही धक्का लागेको छ । २१ दिनको कारोबारमा नेप्से औसतमा दैनिक ४.९२ अंकले घट्नुले बजारमा ’बियरिस’ दबाब कति छ भन्ने प्रष्ट पार्छ ।
बैशाखको सुरुवाती दिनदेखि नै बजारमा गिरावटको सिलसिला सुरु भएको थियो । महिनाको पहिलो कारोबार (बैशाख २ गते) २८६६.८७ विन्दुबाट सुरु भएको बजार सोही दिन ३३.२७ अंकले घटेर २८३४.३१ मा झरेको थियो । त्यसपछिका दिनहरूमा पनि बजार सम्हालिन सकेन ।
बैशाख ३ गते नेप्से थप ३३.८३ अंकले घटेर २८२२.६८ मा सीमित भयो । यद्यपि, बैशाख ४ गते ५.३६ अंकको सामान्य सुधार देखिए पनि त्यसपछिका लगातार चार कारोबार दिन (बैशाख ७ देखि १० सम्म) बजारले रातो रङ नै ओढ्यो ।
विशेष गरी बैशाख २८ र २९ गते बजारमा क्रमश: २६.१६ र २५.८१ अंकको ठूलो गिरावट देखियो । जसले लगानीकर्तालाई थप त्रसित बनायो। महिनाको अन्त्यतिर जेठको मुखैमा आइपुग्दा (बैशाख ३१ गते) बजार १०.०७ अंकले घटेर २७३०.१७ को न्यून विन्दुमा पुगेर थन्किएको छ ।
महिनाभरको तथ्याङ्कीय विश्लेषण गर्दा कारोबार रकम र परिमाणमा पनि ठूलो उतारचढाव देखिएको छ । बैशाख २ गते करिब १० अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा महिनाको मध्यतिर बैशाख २० गते यो रकम घटेर करिब २ अर्ब ८० करोडमा झरेको थियो । यसले बजार घट्दा लगानीकर्ताहरू ’पख र हेर’ को अवस्थामा रहेको सङ्केत गर्छ ।
२१ दिनको अवधिमा कुल १ खर्ब १० अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने कुल २ अर्ब ५२ करोड ९३ लाख कित्ता सेयरको कारोबार भएको देखिन्छ । यो महिनाभर औसत दैनिक कारोबार रकम ५ अर्ब २५ करोड रुपैयाँको हाराहारीमा रह्यो। बजारको गिरावटसँगै औसत कारोबार कित्ता र संख्यामा पनि क्रमिक ह्रास आएको छ, जुन बजार सुस्तताको प्रमुख सूचक हो ।
बैशाख महिनामा नेप्सेले आफ्नो मनोवैज्ञानिक विन्दुहरू गुमाउँदै गएको छ । अघिल्लो महिनाको तुलनामा १०३.४२ अंकको गिरावट सामान्य होइन । बैशाख महिनामा बजार २१ दिन खुला रहँदा अधिकांश समय सूचक ओरालो नै लाग्यो ।
एकातिर सूचीकृत कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइरहँदा अर्कोतिर बजारको यो सुस्तताले लगानीकर्ताको विश्वासमा कमी आएको देखिन्छ । तर, बजार सधैँ एकैनासले घट्दैन ।
प्राविधिक रूपमा हेर्दा बजारले केही टेवा विन्दुहरू परीक्षण गरिरहेको छ । बजेटको पूर्वसन्ध्यामा बजारले कुन दिशा लिन्छ । त्यो भने हेर्न बाँकी नै छ । अहिलेका लागि भने तथ्याङ्कले बैशाखलाई ’निराशाजनक’ महिनाकै रूपमा चित्रण गरेको छ ।
















