सर्वसाधारण जेठ १४ गतेदेखि आईपीओ ल्याउँदै सानिगाड हाइड्रो
काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ।
कम्पनीले आफ्नो कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएको थियो। सोही अनुमति बमोजिम कुल ८५ लाख ५० हजार कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर सफलतापूर्वक बाँडफाँट भइसकेको छ। यसका साथै, कम्पनीका कर्मचारीहरूलाई १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोषहरूलाई २ लाख ८५ हजार कित्ता शेयर छुट्ट्याएर बाँडफाँट गरिसकिएको छ।
यसअघि छुट्ट्याइएको शेयर बाँडफाँट भइसकेपछि बाँकी रहेको कुल ४६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर अब सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४६ लाख ७४ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको यस आईपीओमा इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यो निष्कासन छिटोमा जेठ २० गते बैंकिङ समयपछि बन्द हुनेछ भने उक्त अवधिमा आवश्यक आवेदन नपरेको खण्डमा ढिलोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
















