‘चिज खाने, पैसा नतिर्ने’ प्रधानमन्त्रीको व्यवहार खुश्बुलाई चित्त बुझेन; संसदमा उठाइन सवाल
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले दुग्ध विकास संस्थान (डीडीसी) को आर्थिक संकट र दुग्ध उत्पादक किसानहरूको दयनीय अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
प्रधानमन्त्री बालेन्द्र साहले सरकारी स्वामित्वमा रहेको संस्थानको उत्पादन ‘चीज’ खाएर प्रचारप्रसार गरेको सन्दर्भलाई जोड्दै उनले केवल यस्ता सांकेतिक प्रचारबाजीले मात्रै भुक्तानी नपाएर छटपटिएका किसानको समस्या समाधान नहुने तर्क गरिन्।
उनले राजा महेन्द्रका पालामा स्थापना भएको डीडीसीको उत्पादन प्रधानमन्त्रीले चाख्नुलाई अत्यन्त राम्रो काम भने पनि किसानको पसिनाको फल नदिनुलाई अन्याय बताएकि छिन् ।
देशको कार्यकारी प्रमुखले सरकारी उत्पादनको स्वाद लिँदैमा र बजार प्रवर्द्धनको अभिनय गर्दैमा वर्षौंदेखि पीडित किसानका घरमा चुल्हो नबल्ने उनको भनाइ थियो।
सांसद ओलीले दुग्ध विकास संस्थानले देशभित्रका सोझा र श्रमजीवी किसानलाई झन्डै ६० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको विवरण संसद्सामु प्रस्तुत गरिन्। लामो समयदेखि आफ्नो पसिनाको मूल्य नपाएर किसानहरू छटपटाइरहेको बेला प्रधानमन्त्रीको यस्तो शैलीले आम कृषकको घाउमा मलम लगाउन नसक्ने उनले स्पष्ट पारिन्।
संस्थानले विसं २०७३ सालदेखि नै किसानहरूको ठूलो रकम रोकेर राखेको भन्दै उनले राज्यको यस्तो गैरजिम्मेवारपन माथि कडा आक्रोश व्यक्त गरिन्।
प्रधानमन्त्रीले चीज खाएको कुरा तब मात्र अर्थपूर्ण र न्यायसंगत ठहरिनेछ, जब सरकारले किसानको सम्पूर्ण बक्यौता तत्काल चुक्ता गरेर घाटामा गइरहेको संस्थानलाई नाफाको दिशामा अघि बढाउन सक्छ भन्ने उनको दृढ अडान थियो।













