निर्यातको कछुवा गतिले भेटेन आयातको रफ्तार: वैदेशिक व्यापारमा गहिरिँदै परनिर्भरताको खाडल
काठमाडाैं । नेपालले वैदेशिक व्यापारमा बेहोरिरहेको परनिर्भरताको खाडल चालु आर्थिक वर्षमा झन् गहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु विदेश निर्यात गर्दा ६ रुपैयाँ ७९ पैसा बराबरको सामान आयात गर्नुपर्ने बाध्यता देखिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो अनुपात ६.७७ गुणा थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात-निर्यात अनुपातमा ०.५० प्रतिशतले वृद्धि भएको छ, जसले नेपालको व्यापार सन्तुलन झन्-झन् कमजोर बन्दै गएको स्पष्ट पार्छ।
साउनदेखि वैशाख मसान्तसम्ममा नेपालको वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि देखिए पनि व्यापार घाटाको ग्राफ भने थप डरलाग्दो बनेको छ। समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा गत वर्षको तुलनामा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यस्तो घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ मात्र थियो।
समग्र आयात र निर्यात दुवैमा झन्डै समान प्रतिशतको वृद्धि देखिए पनि आयातको अंक ठूलो हुँदा व्यापार घाटा चुलिएको हो। वैशाख मसान्तसम्म देशको कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.७५ प्रतिशतको वृद्धि हो।
चालु आवको १० महिनामा मात्रै नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको विदेशी वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो। गत वर्ष वैशाख मसान्तसम्म १४ खर्ब ७४1 अर्ब १८ करोड ८२ लाख रुपैयाँको आयात भएको थियो।
यता आयातको तुलनामा नेपालको निर्यातको आकार निकै सानो छ। चालु आवको १० महिनामा नेपालले मात्र २४ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ को सामान निर्यात गर्न सकेको छ। यद्यपि, निर्यात अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशतले बढेको हाे ।













