बजेटको पूर्वसन्ध्यामा नेप्सेको ‘यू–टर्न’: सातामा १७ अर्ब ७५ करोडको कारोबार भई नेप्से २७ अंकले बढ्यो
काठमाडौं । आगामी जेठ १५ गते संसद्मा प्रस्तुत हुन लागेको आगामी आर्थिक वर्षको बजेट र सेयर बजारको नीतिगत सुधारको पर्खाइबीच यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सकारात्मक दिशा समातेको छ ।
वैशाख महिनामा लगातार ओरालो लागेर कुल १०३ अंकको भारी गिरावट व्यहोरेको बजारले जेठको पहिलो साता भने केही राहतको सास फेरेको छ । उतारचढावले भरिएको यस साता नेप्से परिसूचक समग्रमा २७.५८ अंकले बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन (शुक्रबार) २,७३२.९७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर २,७५८.४९ विन्दुमा उक्लिएको छ । साताका ५ कारोबार दिनलाई नियाल्दा औसतमा दैनिक बजार ५.५१ अंक (साढे ५ अंक) ले बढेको देखिन्छ, जसले आगामी दिनमा बजारले गति लिने संकेत गरेको छ ।
साताभर कुल १७ अर्ब ७५ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पाँच दिनमा कुल ४ करोड ४१ लाख ५० हजार ८४२ कित्ता सेयर २ लाख ४० हजार ४०५ पटकको किनबेच भएको छ ।
यस साता बजारमा औसत दैनिक कारोबार रकम ३ अर्ब ५५ करोड १२ लाख ८८ हजार रुपैयाँ रहेको छ भने औसतमा दैनिक ८८ लाख ३० हजार १६८ कित्ता सेयर किनबेच भएका छन् । औसतमा दैनिक ४८ हजार ८१ पटक कारोबार हुँदा दैनिक औसत ३४३ वटा कम्पनीहरू बजारमा सक्रिय देखिएका छन् ।
बजेट आउन अब ६ दिन मात्र बाँकी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेटको अन्तिम तयारीमा व्यस्त छन् । सेयर लगानीकर्ताहरूले यसपटक पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) को व्यवस्थालाई नै अन्तिम कर (फाइनल ट्याक्स) का रूपमा स्थापित गर्न जोडदार माग गरिरहेका छन् ।
बजेट अघिको यो नीतिगत अन्योलता र ६ दिनको लगातार गिरावट (बिचमा एक दिन १.७७ अंकको झिनो अंकले बढेको बाहेक) मा कुल ६० अंक गुमाएको बजारमा यो साता फेरि क्रेताहरू हावी हुन थालेका छन् ।
नप्सेको सोमबारदेखि शुक्रबारसम्मको रोमाञ्चक यात्रा
साताको पहिलो दिन सोमबार बजारमा अघिल्लो गिरावटको केही असर बाँकी नै देखियो । उक्त दिन नेप्से परिसूचक १.०३ अंक (०.०३ प्रतिशत) को सामान्य अंकले घटेर २,७३०.९१ विन्दुमा ओर्लियो ।
कुल ३३९ कम्पनी सक्रिय रहेको यस दिन ४३ हजार ३०९ पटकको कारोबारमा ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भई कुल २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँको कारोबार भयो ।
मंगलबार पनि बजारमा गिरावटको क्रम रोकिएन । नेप्से परिसूचक ६.५१ अंक (०.२३ प्रतिशत) ले घट्दै २,७२४.३९ विन्दुमा कायम भयो । तथापि, कारोबार रकममा भने वृद्धि भयो । यस दिन ३४६ कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ४५ हजार ५१९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७३ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भयो ।
लगातारको गिरावटपछि बुधबार भने बजारमा बलियो ‘यू–टर्न’ देखियो । बजेटमा अनुकूल नीति आउने आशा र घटेको मूल्यमा सेयर उठाउने दाउमा रहेका लगानीकर्ता सक्रिय हुँदा बजार एकै दिन ३०.०८ अंक (१.१० प्रतिशत) ले बढ्यो । यो वृद्धिले लगानीकर्तामा उत्साह सञ्चार गरायो ।
उक्त दिन परिसूचक २,७५४.४८ विन्दुमा पुग्यो भने कारोबार रकम पनि उल्लेख्य बढेर ३ अर्ब ८२ करोड ८९ लाख ९६ हजार ९६६ रुपैयाँ पुग्यो । यस दिन ५२ हजार ३३६ पटकको कारोबारमा १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच भयो ।
बुधबारको ३० अंकको तीव्र वृद्धिपछि बिहीबार बजारमा ट्रेडरहरू हावी भए । अल्पकालीन नाफा बुक गर्ने प्रवृत्ति सक्रिय हुँदा बजार फेरि १२.३६ अंक (०.४४ प्रतिशत) ले ओरालो लाग्दै २,७४२.११ विन्दुमा ओर्लियो । ३४८ कम्पनीको सहभागिता रहेको बिहीबार ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटक किनबेच भई ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँको कारोबार भयो ।
साताको अन्तिम दिन शुक्रबार भने बजारले पुन: उचाइ लियो । ट्रेडरहरूको बिक्री चापलाई पचाउँदै बजार १६.३८ अंक (०.५९ प्रतिशत) ले बढेर साताको उच्च विन्दु २,७५८.४९ मा बन्द भयो ।
शुक्रबार साताकै सर्वाधिक ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भयो । यस दिन १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर ५४ हजार ४९७ पटक किनबेच भएका थिए ।
बजेटको पूर्वसन्ध्यामा भएको यो उत्साहजनक कारोबारले आगामी साता बजार थप चलायमान हुने आशा जगाएको छ ।
















