छुट्ला है कालंगा हाइड्रोको आईपीओ ! आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

छुट्ला है कालंगा हाइड्रोको आईपीओ ! आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ। गत जेठ ८ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा इच्छुक लगानीकर्ताहरूले आज (जेठ १३ गते) बैंकिङ्ग समयभित्र आवेदन दिइसक्नुपर्नेछ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सो चरण पूरा भएपछि अहिले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि यो अवसर खुला गरिएको हो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन यसअघि नै बाँडफाँट भइसकेको छ।

त्यसैगरी, सर्वसाधारणलाई शेयर खुला गर्नुअघि कम्पनीले संस्थागत रूपमा १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र १ लाख ५ हजार कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ।

यी सबै वर्गीकरणपछि बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर अहिले सर्वसाधारणका लागि निष्काशन गरिएको हो। लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा यो शेयर किन्न पाउनेछन्।

यस आईपीओमा आवेदन दिँदा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने आफ्नो इच्छा र क्षमताअनुसार अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस्