बालेन सरकारको बजेट भोलि अपराह्न ४ बजे सार्वजनिक हुँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बालेन सरकारको बजेट भोलि अपराह्न ४ बजे सार्वजनिक हुँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । नेपालको संविधानानुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था अनुरूप सरकारले भोलि अपराह्न ४:०० बजे संघीय संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्न लागेको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बालेन्द्र शाह (बालेन) नेतृत्वका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

सभामुख डोलप्रसाद अर्यालले भोलि दिउँसो ३:४५ बजेभित्रै संसद् भवनमा उपस्थित भइसक्न सबै सांसदहरूलाई निर्देशन दिइसकेका छन् । संयुक्त सदनमा बजेट भाषण सकिएलत्तै भोलि नै बेलुकी ५:३० बजे प्रतिनिधि सभाको छुट्टै बैठक बस्ने कार्यसूची रहेको छ । सो बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटको प्रतिवेदन (आर्थिक विधेयक, २०८३) टेबुल गर्ने र चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमाथि छलफल अघि बढाउने तयारी छ ।

यस पटकको बजेटमा सरकारले विशेष गरी निजी क्षेत्रको मनोबल बढाउने, कर प्रणालीमा सुधार गर्ने र उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो समय खस्किएको बजारको आत्मविश्वास फर्काउन र देशभित्रै लगानीको वातावरण सुदृढ गर्न बजेट केन्द्रित हुनेछ ।

निजी क्षेत्रका प्रमुख संस्थाहरूले करको दर परिमार्जन गर्न र प्रक्रियागत झन्झट मुक्त गर्न दिएका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास बजेटमार्फत गरिने बुझिएको छ । हिजो मात्रै संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षणले मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरेको पृष्ठभूमिमा यो बजेट आउन लागेको हो ।

नेपालमा वि.सं. २०७२ को संविधान जारी भएयता गणतन्त्र दिवसकै दिन जेठ १५ गते बजेट ल्याउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि जेठ १५ कै तिथि पारेर सरकारले देशको समग्र आर्थिक पुनरुत्थान, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य जग बनाएर बजेटको अन्तिम रूप तयार पारेको अर्थ मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ । आम नागरिक र उद्योगी व्यवसायीहरूले भोलि आउने बजेटलाई निकै चासोका साथ पर्खिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्