अर्थमन्त्री वाग्लेले रातभर बसेर लेखेका छन् बजेट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थमन्त्री वाग्लेले रातभर बसेर लेखेका छन् बजेट



काठमाडौं । नयाँ सरकार गठनपछिको पहिलो ऐतिहासिक बजेटलाई पूर्णता दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार रातभर नसुती खटिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रम र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट लेखन कार्यलाई अन्तिम रूप दिन अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसहित रातभर व्यस्त रहेका हुन् ।

स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले बजेटको अङ्कहरू मिलाउन र नीतिगत कार्यक्रमहरू तय गर्न आफैँ खटिएर प्रत्येक बुँदाको मिहीन अध्ययन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावका बेला जनतासामु राखेको वाचापत्र, सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना र संसद्मा प्राप्त सांसदहरूका रचनात्मक सुझावहरूलाई बजेटमा समावेश गर्न उनले विशेष ध्यान दिएका छन् ।

परम्परागत र वितरणमुखी बजेटको परिपाटीलाई तोड्दै सुशासन र आर्थिक उत्पादन बढाउने खालका योजनाहरू समेट्न अर्थमन्त्री आफैँले कतिपय मस्यौदा रातभर बसेर पुनर्लेखन गरेका थिए ।

बजेट तयारी टोलीका एक अधिकारीका अनुसार मन्त्री वाग्लेले राष्ट्रिय योजना आयोगले तोकेको १८ खर्ब ९० अर्बको सिलिङभित्रै रहेर देशको अर्थतन्त्रलाई चलायमान बनाउने र फजुल खर्च कटौती गर्ने रणनीतिक योजनाहरू आफैँले तयार पारेका छन् ।

विगतका वर्षहरूमा जस्तो बजेट भाषणको अघिल्लो रात कर्मचारीको भर पर्ने प्रवृत्तिलाई अन्त्य गर्दै उनले देशको अर्थतन्त्रलाई सही दिशा दिने ऐतिहासिक दस्तावेज तयार पारेको दाबी गरिएको छ ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा यो बजेट प्रस्तुत हुनुअघि बिहान मन्त्री वाग्लेले बजेट पुस्तिकाको अन्तिम छपाई र परिमार्जन कार्य सम्पन्न गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्