रक्सीमा फेरिएन भन्सार दर, चुरोटमा बढ्यो तर भेपमा घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रक्सीमा फेरिएन भन्सार दर, चुरोटमा बढ्यो तर भेपमा घट्यो



काठमाडौँ । सरकारले हानिकारक भनिएका इनर्जि ड्रिङ्सदेखि विद्युतीय चुरोट (भेप)सम्मको भन्सार दर घटाएको छ । विदेशी रक्सीको आयातमा लाग्ने कर घटाउने हल्ला चलाएर भए पनि यसको कर बृद्धि गर्ने बाटो बन्द गरिएको छ । तर चुरोट वा यसको कच्चा पदार्थका रुपमा ल्याइने सुर्तिको भन्सार भने बढाएको छ । त्यत्तिकैमा खैनी, सुर्तिको भने भन्सार बढेको छैन ।

संघीय सरकारले शुक्रबार संसदमा दर्ता गराएको आर्थिक विधेयकले यस्तो देखाएको हो ।

उक्त विधेयक अनुसार इनर्जी ड्रिङ्समा भन्सार दर ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ । कोक, पेप्सीजस्ता हल्का पेय पदार्थ र बास्नायुक्त दूधका पेयपदार्थमा पनि यसअघि ४० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा अब ३० प्रतिशतमा झारिएको छ ।

सेम्पेन, सेरी, मिड, पेरी, साइडर, साके जस्ता पदार्थमा भने ८० प्रतिशतको भन्सार दरलाई चलाइएको छैन । बाँकी कुनै पनि मदिराको भन्सार महसुल चलाइएको छैन ।

तर सुर्तिमा भने कर बढाइएको छ । सुर्ति भएका सिगार, सेरूटको १ खिल्ली आयात गर्दा १ रुपैयाँ बढी महसुल तिर्नुपर्ने भएको छ । प्रतिहजार महसुल ११ हजारबाट बढाएर १२ हजारमा पुर्याएको छ ।

सबै खाले अर्थात् फिल्टर भएको वा नभएको एवम् सस्तो वा महँगो चुरोटको आयातमा समान कर लाग्छ र अब त्यो बढेको छ । प्रतिहजार खिल्ली चुरोटको आयातमा ५५०० रहेको भन्सार महसुल अब ६ हजार पुर्याइएको छ । अर्थात् १ खिल्ली चुरोट आयात गर्दा ६ रुपैयाँ भन्सार महसुल तिर्नुपर्छ । तयारी बिँडीमा पनि यसरीगरी प्रतिहजारमा ५०० रुपैयाँ महसुल बढाइएको छ ।

सबै प्रकारका सिगार (ठूलो)को आयातमा भने प्रतिशजार १२ हजार रुपैयाँ महसुल तिर्नुपर्ने भएको छ, यो पनि १ हजारको बृद्धि हो ।

चुरोट तथा विँडीका लागि प्रशोधित सुर्तिको भन्सार महसुल पनि ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याइएको छ । यसले तयारी चुरोटको तुलनामा नेपाली चुरोट उत्पादकहरुले कच्चा पदार्थका रुपमा आयात गर्ने सूर्तिको भन्सार दोब्बर अनुपातमा बढाएको देखिन्छ ।

कट् टोबाको र डस्ट टोबाकोमा पनि ६० प्रतिशतको भन्सार महसुल बढाएर ८० पुर्याइएको छ । तर जर्दा, खैनी, नस (स्नफ), गुट्खा लगायतका वस्तुमा लाग्दै आएको ८० प्रतिशत भन्सार शुल्कलाई बढाइएको छैन । साथै, चुनावाला सुर्तिदेखि हुक्का र फ्लेबरसम्म पनि भन्सार दर हेरफेर गरिएको छैन ।

विद्युतीय चुरोट (भेप)को आयातमा लाग्ने भन्सार महसुल भने ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ । अरु यस्तै किसिमका निकोटिनयुक्त वस्तुको भन्सार दर पनि ४० बाट ३० प्रतिशतमा झारिएको छ ।


प्रतिक्रिया दिनुहोस्