अर्थमन्त्री वाग्लेकाे बजेटलाई पत्याएन सेयर बजारले: नेप्सेमा २६.७२ अङ्ककाे पहिराे, कारोबार पनि खुम्चियो
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणालाई सेयर बजारले ‘रेड फ्ल्याग’ देखाएको छ। सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन सोमबार नै सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो।
साताको दोस्रो कारोबार दिन सोमबार बजार खुल्नासाथ ओरालो लाग्ने क्रम सुरु भई सेयर बजार मापक नेप्से परिसूचक २६.७२ अङ्कले घटेर २७ सय ५५ दशमलव ३७ विन्दुमा ओर्लिएर रोकिएको छ।
नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार बजारमा ३५४ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँको मात्र कारोबार भएको छ।
जबकी, बजेट आउनुअघिको अन्तिम कारोबार दिन गत शुक्रबार बजारमा उत्साह देखिँदा ३५४ कम्पनीकै १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर खरिद-बिक्री भएको थियो, जसबाट ६ अर्ब ३० करोड ६४ हजार रुपैयाँको ठूलो कारोबार भएको थियो। शुक्रबारको तुलनामा सोमबार कारोबार रकम करिब ६९ करोड रुपैयाँले खुम्चिएको हो।
समग्र बजार घटेकाे दिन अन्य समुहकाे उपसूचक ३.३६ र निर्जीवन बीमा समुहकाे उपसूचक १.३७ प्रतिशत बढेकाे छ भने बाँकी सबै उपसूचकहरू घटेका छन् ।आज व्यापार समुह सर्वाधिक ६.१४ प्रतिशत घटेकाे छ भने हाइड्राेपावर १.९७, उत्पादन तचथा प्रशाेधन १.४२, हाेटल तथा पर्यटन १.४० र लगानी समुहकाे उपसूचक १.२२ प्रतिशत घटेकाे छ।
आज ३५ कम्पनिकाे मात्र सेयर मूल्य बढेकाेमा २ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यसदिन नेपाल रिइन्स्याेरेन्स कम्पनी र कालिञ्चाेक हाइड्राेपावरकाे सेयर मूल्य समान १४.९९ प्रतिशत बढेकाे हाे । यता समग्र काराेबारमा २३३ कम्पनीकाे सेयर मूल्य घटेकाेमा बुँगल हाइड्राेकाे सेयर मूल्य १३.२० प्रतिशत घटेकाे छ।













