सर्वसाधारणका लागि ७ लाख ५ हजार कित्ता आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सर्वसाधारणका लागि ७ लाख ५ हजार कित्ता आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स



काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको शेयर सफलतापूर्वक बाँडफाँट गरिसकेपछि कम्पनीले अब आम सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै यो अवसर ल्याएको हो।

कुल ३४ करोड रुपैयाँ जारी पूँजी रहेको यस कम्पनीले त्यसको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशतले हुन आउने ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि यसअघि नै बाँडफाँट भइसकेको छ। अब बाँकी रहेको कित्तामध्ये १७ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।

कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको कुल ७ लाख ५ हजार ५०० कित्ता शेयरमा मात्र अब सर्वसाधारणले लगानी गर्न पाउनेछन्।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो आईपीओमा आवेदन दिने अन्तिम मिति आगामी असार २ गतेसम्म तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम पर्याप्त आवेदन नपरेको खण्डमा निष्काशन अवधि असार ११ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्