एडीबी र ह्वावेको सहकार्यमा विश्व निकेतनमा स्मार्ट कक्षा सञ्चालन
काठमाडौं। एसियाली विकास बैंक (एडीबी) र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सञ्चालन गरेका छन्। डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा सुधार गर्दै नेपालभर गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।
सन् १९५९ मा स्थापना भएको काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयलाई आधार बनाएर स्मार्ट शिक्षाको नमुना विकास गर्ने लक्ष्य राखिएको एडीबी र ह्वावेले जनाएका छन्। विद्यालय नेपालको पुराना तथा प्रतिष्ठित सामुदायिक शैक्षिक संस्थामध्ये एक मानिन्छ।
यस कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाका विद्यालयलाई उपत्यकाबाहिरका विद्यालयसँग डिजिटल माध्यमबाट जोड्ने सहकार्यात्मक स्मार्ट शिक्षा प्लेटफर्म तयार गरिएको छ। प्लेटफर्ममार्फत विद्यार्थी र शिक्षकले प्रत्यक्ष वैज्ञानिक अनुसन्धान, अन्तरक्रियात्मक कक्षा तथा वास्तविक समयमै ज्ञान आदान–प्रदान गर्न सक्नेछन्।
ह्वावेको स्मार्ट कक्षा समाधानमार्फत दुर्गम क्षेत्रका विद्यार्थीले गुणस्तरीय विज्ञान शिक्षा, डिजिटल शैक्षिक सामग्री तथा विश्व निकेतनका विद्यार्थीहरूसँग संयुक्त सिकाइमा सहभागी हुने अवसर पाउने जनाइएको छ। साथै, शिक्षकहरूले पनि शिक्षण अनुभव आदान–प्रदान गर्दै संयुक्त रूपमा कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
ह्वावेका अनुसार स्मार्ट शिक्षा अवधारणा शहरी–ग्रामीण शैक्षिक अन्तर घटाउने, शिक्षकलाई डिजिटल उपकरणमार्फत सशक्त बनाउने तथा तथ्यांकमा आधारित विश्लेषण प्रयोग गरी सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने तीन प्रमुख लक्ष्यमा केन्द्रित छ।
ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले डिजिटल कनेक्टिभिटीले विद्यार्थी, शिक्षक र ज्ञानलाई जोडेर सबैका लागि समान अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार काठमाडौंदेखि दुर्गम गाउँसम्मका विद्यार्थीलाई समावेशी र अन्तरक्रियात्मक शिक्षामा सहभागी गराउने उद्देश्यले यो पहल अघि बढाइएको हो।
एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान शुले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिको प्रयोगमार्फत सबै विद्यार्थीका लागि समावेशी तथा भविष्यमुखी शिक्षा प्रणाली निर्माण गर्ने एडीबीको प्रतिबद्धता यस कार्यक्रमले झल्काएको बताए।
आयोजकका अनुसार यस पहलले वैज्ञानिक साक्षरता अभिवृद्धि, शिक्षणको गुणस्तर सुधार तथा डिजिटल रूपान्तरणमार्फत नेपालको शिक्षा प्रणालीलाई थप आधुनिक, समावेशी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।













