दिगो र घाम पावरबीच इटहरीमा सोलार–ब्याट्री ऊर्जा स्टोरेज प्रणाली निर्माणको साझेदारी
काठमाडौं। दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली (बीईएसएस) विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ। दुवै कम्पनीले यस सहकार्यलाई नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गर्दै विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ पूर्वाधारलाई थप प्रभावकारी बनाइनेछ। यसबाट उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय विद्युत् ग्रिडमाथिको निर्भरता कम गर्दै नवीकरणीय ऊर्जाको उपयोग बढाउने लक्ष्य राखिएको छ।
प्रस्तावित प्रणालीले दिनभर सोलारबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यक पर्दा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ। यसले ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनुका साथै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्ने र चार्जिङ सञ्चालनमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने अपेक्षा गरिएको कम्पनीहरूले जनाएका छन्।
दिगोका व्यवसाय प्रमुख (एकीकृत ऊर्जा समाधान) नबिन अधिकारीले घाम पावरसँगको सहकार्यले नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने अभियानलाई थप बल पुग्ने बताए। उनका अनुसार चार्जिङ स्टेशनमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको एकीकरणले विद्युतीय यातायातलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार तयार हुनेछ।
घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले पनि परियोजनाप्रति उत्साह व्यक्त गर्दै सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको संयोजनले ऊर्जा दक्षता बढाउनुका साथै नेपालमा स्वच्छ प्रविधिमा आधारित ईभी चार्जिङ पूर्वाधार सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार यो परियोजना भविष्यमा देशभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका लागि नमुना परियोजनाका रूपमा विकसित हुनेछ। स्थानीय रूपमा उत्पादन भएको सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउने, विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च कम गर्ने तथा ईभी प्रयोगकर्तालाई निरन्तर चार्जिङ सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दिगोले विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार तथा दिगो यातायात समाधानमार्फत नेपालमा ईभीको विस्तारमा सक्रिय भूमिका खेल्दै आएको छ। घाम पावरले पनि सौर्य ऊर्जा समाधानमार्फत देशभर स्वच्छ ऊर्जा प्रवर्द्धनमा योगदान दिँदै आएको छ। दुवै कम्पनीले ऊर्जा र विद्युतीय यातायातलाई एकीकृत गर्दै नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अघि बढाउने तथा नेट जिरो कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।













