‘युवा मस्तिष्क र इन्जिनियरिङ’ नारासहित भोलि ६४औँ इन्जिनियर्स दिवस मनाइँदै - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

‘युवा मस्तिष्क र इन्जिनियरिङ’ नारासहित भोलि ६४औँ इन्जिनियर्स दिवस मनाइँदै



काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएसनले ‘युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण’ भन्ने मूल नारासहित विविध प्राविधिक तथा औपचारिक कार्यक्रम आयोजना गर्दै ६४औँ इन्जिनियर्स दिवस मनाउने भएको छ।

एसोसिएसनका महासचिव विनोद प्रकाश पण्डितका अनुसार श्रावण ३ गते शनिबार ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा दिनभर विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन् भने दिउँसो ३ बजेदेखि मुख्य समारोह आयोजना गरिनेछ।

यस वर्षको इन्जिनियर्स दिवस इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि, युवा इन्जिनियरलाई प्रेरित गर्ने तथा समृद्ध नेपालको निर्माणमा इन्जिनियरहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको एसोसिएसनले जनाएको छ।

बिहान १०:३० बजेदेखि ‘युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण’ विषयमा प्रमुख प्राविधिक सत्र सञ्चालन हुनेछ। त्यसपछि राष्ट्र निर्माणमा व्यावसायिक इन्जिनियरिङ संस्थाहरूको भूमिका, भवन संहिता, भू–प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, परामर्श इन्जिनियरिङ, ऊर्जा सुरक्षा, पुल इन्जिनियरिङ तथा मूल्यांकन (भ्यालुएसन) लगायत समसामयिक विषयमा विज्ञहरूको प्रस्तुति र छलफल हुनेछ।

प्राविधिक सत्रका सदस्य सचिव ई. सञ्जयकुमार साहका अनुसार यी सत्रहरू नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेशागत इन्जिनियरिङ संस्थाको सहकार्यमा सञ्चालन गरिनेछन्।

दिउँसो ३ बजेदेखि सुरु हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पनि विशेष सम्बोधन गर्नेछन्।

इन्जिनियर्स दिवसको अवसरमा इन्जिनियरिङ तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका १० जना उत्कृष्ट इन्जिनियरलाई सम्मान गरिनेछ। सम्मानित हुने इन्जिनियरलाई राष्ट्रपतिबाट सम्मानपत्र र पदक प्रदान गरिने आयोजकले जनाएको छ।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि विभिन्न सांगीतिक ब्याण्डको सांस्कृतिक प्रस्तुति पनि रहने कार्यक्रम तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस्