बाढी जोखिम न्यूनीकरणका लागि डब्लूडब्लूएफ नेपाललाई मेटलाइफको १ लाख २० हजार डलर सहयोग
काठमाडौं। मेटलाइफ फाउन्डेसनले बर्दियाको राजापुर नगरपालिकामा बाढीको जोखिम न्यूनीकरण, पारिस्थितिक प्रणालीको पुनर्स्थापना तथा स्थानीय समुदायको दिगो जीविकोपार्जन प्रवर्द्धन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर (करिब १ करोड ६५ लाख रुपैयाँ) बराबरको अनुदान प्रदान गरेको छ।
यो सहयोगबाट सञ्चालन हुने ‘जीवन’ परियोजनाले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई लक्षित गर्नेछ। बारम्बार आउने बाढी, नदी कटान र माछाको घट्दो संख्याले स्थानीय बासिन्दाको जीविकोपार्जन र खाद्य सुरक्षामा परेको असर न्यूनीकरण गर्न परियोजना केन्द्रित हुनेछ।
एक वर्षे परियोजनाबाट करिब १४० न्यून आय भएका परिवारलाई जलवायुजन्य जोखिमसँग जुध्न सक्षम बनाउने तथा नयाँ आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत जैविक तटबन्ध, हरित पट्टी निर्माण, खोल्साको पुनर्स्थापना लगायत प्रकृतिमा आधारित समाधान कार्यान्वयन गरिने डब्लूडब्लूएफ नेपालले जनाएको छ।
परियोजनाले पर्यापर्यटन, पशुपालन, कुखुरापालन र बजार पहुँच विस्तारमार्फत आयआर्जनका अवसर पनि बढाउनेछ। साथै मेटलाइफका कर्मचारीहरूले स्वयंसेवकका रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन र साना व्यवसाय सञ्चालनसम्बन्धी तालिम प्रदान गर्नेछन्।
यस पहलले माछा स्रोतमा समुदायको निर्भरता घटाउँदै कर्णाली नदीको जैविक विविधता संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। नदी डल्फिन र घडियालजस्ता संकटापन्न प्रजातिको संरक्षणलाई पनि परियोजनाले प्राथमिकतामा राखेको छ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जोखिम व्यवस्थापनमा पूर्वतयारी र संरक्षण महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कर्णालीका बाढी प्रभावित समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउन यो साझेदारी उपयोगी हुने विश्वास व्यक्त गरे।
त्यस्तै, डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले राजापुरका सोनाहा र थारू समुदायसँग सहकार्य गर्दै बाढीको जोखिम घटाउने, पर्यापर्यटन र वैकल्पिक जीविकोपार्जनका अवसर विस्तार गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिने बताए।
डब्लूडब्लूएफ नेपालले सन् १९९३ देखि नेपालमा जैविक विविधता संरक्षण, जलवायु अनुकूलन, वन, स्वच्छ जल प्रणाली, नवीकरणीय ऊर्जा तथा दिगो जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ। यस्तै, सन् १९७६ मा स्थापना भएको मेटलाइफ फाउन्डेसनले विश्वभरका समुदायको आर्थिक सशक्तीकरण, वित्तीय स्वास्थ्य र उत्थानशीलता प्रवर्द्धनका लागि हालसम्म १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ।
















