विश्वकै तेस्रो ठूलो कार निर्माता हुण्डाई मन्दीको चपेटामा: सवारी बिक्री घट्दा नाफा २१ प्रतिशतले खुम्चियो
काठमाडौं । विश्वकै तेस्रो ठूलो सवारी साधन निर्माता कम्पनी हुण्डाई मोटर्सको नाफामा ठूलो गिरावट आएको छ।
बिहीबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा (अप्रिलदेखि जुनसम्म) सञ्चालन नाफामा २१ प्रतिशतले घटेकाे हाे ।
सवारी साधनको बिक्रीमा आएको मन्दी, उत्पादनमा देखिएको अवरोध र बढ्दो लागतका कारण कम्पनीको नाफा घटेको हो। यस अवधिमा कमजोर कोरियन मुद्रा ‘वोन’ का कारण कम्पनीलाई केही आर्थिक टेवा मिले पनि नाफाको गिरावटलाई रोक्न पर्याप्त भएन।
आफ्नो भगिनी कम्पनी किया कर्पोरेसनसँग मिलेर संसारकै अग्रणी स्थान ओगटेको हुण्डाई मोटर्सले यस वर्षको दोस्रो त्रैमासिकमा २.९ ट्रिलियन वन (करिब १.९८ अर्ब अमेरिकी डलर) सञ्चालन नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको ३.६ ट्रिलियन वन नाफाको तुलनामा निकै कम हो।
बजार विश्लेषकहरूले यस अवधिमा कम्पनीले ३.२ ट्रिलियन वोन नाफा कमाउने अनुमान गरेका थिए, तर हुण्डाई मोटर्सको प्रदर्शन त्यो अनुमानभन्दा पनि कमजोर रह्यो।
नाफा घटे पनि कम्पनीको कुल आम्दानीमा भने सामान्य सुधार देखिएको छ। गत वर्षको तुलनामा हुण्डाई मोटर्सको आम्दानी २ प्रतिशतले बढेर ४९.२ ट्रिलियन वोन पुगेको छ। वित्तीय नतिजा सार्वजनिक भए लगतै बजारमा कम्पनीको सेयर मूल्यमा भने २ प्रतिशतको वृद्धि देखिएको छ।
आगामी दिनहरू कम्पनीका लागि अझ चुनौतीपूर्ण हुने प्रक्षेपण गरिएको छ। हुण्डाई मोटर्सले विश्वव्यापी आर्थिक अनिश्चितता कायम रहने र र सवारी साधन बजारमा प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान गरेको छ।
कम्पनीको यो कमजोर वित्तीय अवस्थाले अहिले विश्वभरकै अटोमोबाइल उद्योगले भोगिरहेको साझा संकटलाई देखाउँछ। हाल विश्वका कार निर्माता कम्पनीहरू ऊर्जा र कच्चा पदार्थको बढ्दो मूल्यसँगै अमेरिकी महसुल नीति र मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित ढुवानी तथा आपूर्ति श्रृंखलाको समस्यासँग जुधिरहेका छन्।













