नेरुडे मिर्मिरे लघुवित्तको १९ औँ वार्षिक साधारण सभा सम्पन्न, सबै प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा भक्तपुरको मध्यपुर थिमीस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न सभाले प्रस्तुत गरिएका सबै सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
यसअघि असार ३२ गतेका लागि बोलाइएको साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। त्यसपछि सञ्चालक समितिको निर्णयअनुसार पुनः आह्वान गरिएको सभा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन तथा संस्थाको प्रबन्धपत्रअनुसार सम्पन्न भएको संस्थाले जनाएको छ।
सभामा अध्यक्ष राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था सुधार, सुशासन, जोखिम व्यवस्थापन, निष्क्रिय कर्जा न्यूनीकरण तथा व्यवसायिक पुनर्संरचनाका लागि अपनाइएका रणनीतिबारे जानकारी गराएका थिए। उनले शेयरधनीहरूको विश्वास र सहयोगका आधारमा संस्थालाई थप प्रतिस्पर्धी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
साधारण सभामा २१ जना शेयरधनीले संस्थाको भावी सुधारका लागि सुझाव दिएका थिए। उनीहरूले विशेषगरी निष्क्रिय कर्जा व्यवस्थापन प्रभावकारी बनाउने, घाटामा रहेका शाखालाई नाफामुखी बनाउने, जनशक्ति व्यवस्थापन सुधार गर्ने, आन्तरिक विवाद समाधान गर्ने, समयमै वार्षिक साधारण सभा आयोजना गर्ने तथा लगानीकर्तालाई नियमित प्रतिफल उपलब्ध गराउने विषयमा जोड दिएका थिए।
शेयरधनीका जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले संस्थाको वित्तीय अवस्था क्रमशः सुधारको दिशामा रहेको उल्लेख गर्दै प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेटिने बताए।
सभाले पाँचवटा सामान्य र चारवटा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। विशेष प्रस्तावअन्तर्गत नियामकीय स्वीकृतिपछि पूँजी वृद्धि योजना कार्यान्वयन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आवश्यक परे समान प्रकृतिका लघुवित्त संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले साधारण सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, सञ्चालक, कर्मचारी, नियामकीय निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित निर्णयको प्रभावकारी कार्यान्वयनमार्फत संस्थाको व्यवसायिक सुदृढीकरण, सुशासन अभिवृद्धि र शेयरधनी हित संरक्षणमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाए।













