गण्डकीमा दुग्ध किसानलाई रु ५ करोड प्रोत्साहन, ११ हजारभन्दा बढी लाभान्वित
काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ११ हजार २३२ किसानलाई रु ५ करोड ५८ लाखभन्दा बढी रकम वितरण गरेको छ। उक्त सहयोग प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत उपलब्ध गराइएको हो।
यो कार्यक्रमअन्तर्गत रकम सिधै किसानलाई नदिई मापदण्ड पूरा गरेका दुग्ध सहकारी संस्थामार्फत वितरण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार दैनिक कम्तीमा २०० लिटर दूध संकलन गर्ने र वर्षमा २०० दिन कारोबार गर्ने सहकारी मात्रै यस योजनाका लागि योग्य मानिन्छन्।
प्रोत्साहन रकम प्राप्त गर्न किसानले पनि निश्चित सर्त पूरा गर्नुपर्ने व्यवस्था छ। एक आर्थिक वर्षमा कम्तीमा ३० दिन सहकारीमार्फत दूध बिक्री गरेका किसान मात्र यस योजनामा समावेश हुन्छन्। यस्ता योग्य सहकारी संस्थाले अधिकतम रु १७ लाख ५० हजारसम्म अनुदान प्राप्त गर्न सक्ने प्रावधान छ।
सरकारले किसानले बिक्री गरेको दूधको प्रतिलिटर रु ५ का दरले प्रोत्साहन उपलब्ध गराउने नीति लिएको छ। यद्यपि केही सहकारीमा लाभग्राहीको संख्या बढी भएकाले उपलब्ध बजेटअनुसार प्रतिलिटर वितरण हुने रकम केही घट्न सक्ने डा. शर्माले बताए।
मन्त्रालयका अनुसार सहकारीले प्राप्त गर्ने कुल रकममध्ये ४ प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्न पाउने व्यवस्था छ। बाँकी ९६ प्रतिशत रकम भने सम्बन्धित किसानलाई नै वितरण गरिने गरिएको छ।













