असारको बिजुलीको बिल साउनमा तिर्दा ५ प्रतिशत भ्याट लाग्छ कि लाग्दैन ?
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) आर्थिक वर्ष २०८३/८४ सुरु भएको मिति अर्थात् साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट गरेको छ।
आर्थिक ऐन, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५३ मा संशोधन गर्दै सरकारले विद्युत् सेवाका अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको थियो। तर उक्त व्यवस्था कहिलेदेखि लागू हुने भन्ने विषयमा विभिन्न तहमा अन्योल देखिएको थियो। सोही अन्यौल अन्त्य गर्न विभागले साउन १ गते यताको खपत तथा कारोबारमा मात्रै मूल्य अभिवृद्धि कर लाग्ने स्पष्ट पारेको हो।
विभागका अनुसार असार मसान्तसम्मको विद्युत् खपतको बिल साउन १ गते वा त्यसपछि जारी भए पनि त्यस अवधिको खपतमा भने भ्याट लाग्दैन। विभागले आर्थिक ऐनमा नयाँ कर व्यवस्था साउन १ गतेदेखि कार्यान्वयन हुने स्पष्ट उल्लेख भएकाले सोभन्दा अघिको विद्युत् खपतमा भ्याट नलाग्ने जनाएको छ।
यदि असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट असुल गरिएको पाइएमा त्यसलाई छुट दिइने र त्यस्तो कर मान्य नहुने विभागले स्पष्ट पारेको छ।













