क्यान महासंघ र महर्षि कलेजबीच एआई शिक्षा विस्तारका लागि पाँचवर्षे साझेदारी
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धित महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधि सीप विस्तार गर्ने उद्देश्यसहित पाँच वर्षे रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एआई, कोडिङ तथा भविष्यका प्रविधि सीप सातै प्रदेशका युवामाझ विस्तार गर्ने, विद्यार्थीलाई व्यवहारिक प्रविधि शिक्षासँग जोड्ने तथा शैक्षिक संस्था र उद्योगबीचको दूरी कम गर्ने लक्ष्य लिइएको छ।
साझेदारीअन्तर्गत आधारभूतदेखि उन्नत तहसम्मका कोडिङ बुटक्याम्प सञ्चालन गरिने, एआईमा आधारित ह्याकाथन तथा इनोभेसन च्यालेन्ज आयोजना गरिने, स्टार्टअप इन्कुबेसनमार्फत उत्कृष्ट प्रविधि अवधारणालाई व्यावसायिक उद्यममा विकास गर्न सहयोग गरिने तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारीले नेपाली युवाले एआईको प्रयोगकर्तामात्र नभई यसको विकासकर्ता र नेतृत्वकर्ता बन्नुपर्ने आवश्यकता औंल्याए। सातै प्रदेशमा बुटक्याम्प तथा स्टार्टअप कार्यक्रम विस्तार गरेर देशभरका युवालाई समान अवसर उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ थियो।
महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक प्रणालीलाई उद्योगको व्यावहारिक अनुभवसँग जोडेर विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रवेश गर्ने प्रत्यक्ष अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। यसबाट भविष्यका चुनौती सामना गर्न सक्षम दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने उनले बताए।
हस्ताक्षर कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सहसंयोजक ओंकार बस्नेतलगायत शिक्षा र सूचना प्रविधि क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
क्यान महासंघ र महर्षि कलेजले विश्वव्यापी रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको रोजगारी बजारलाई लक्षित गर्दै नेपाली युवालाई एआई तथा आधुनिक प्रविधिमा दक्ष बनाउने र नेपालको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।













