भरतपुरमा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालन
काठमाडौं । नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले चितवनको भरतपुरस्थित बालमन्दिर क्षेत्रमा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।
चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीले उद्घाटन गरेको उक्त आउटलेटमार्फत ग्राहकले एउटै स्थानबाट चार अन्तर्राष्ट्रिय विद्युतीय सवारी ब्राण्डका विभिन्न मोडेल अवलोकन गर्न, परामर्श लिन, टेस्ट ड्राइभ गर्न तथा बिक्रीपछिका सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उपत्यकाबाहिर आधुनिक विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यअनुसार भरतपुरमा आउटलेट सञ्चालन गरिएको हो। यसले नेपालमा दिगो, स्मार्ट र प्रभावकारी विद्युतीय यातायात विस्तार गर्ने योजनालाई थप बल पुग्ने विश्वास कम्पनीको छ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले उपत्यकाबाहिर विद्युतीय सवारीसाधनको पहुँच विस्तारमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गरे। त्यस्तै भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले भरतपुरमा कम्पनीको शोरुम स्थापना हुनु स्थानीय उपभोक्ताका लागि सकारात्मक कदम भएको बताए।
कार्यक्रममा नबिल बैंकका क्लस्टर हेड टोपप्रसाद अगस्तीले विद्युतीय सवारी खरिदका लागि बैंकले सहज र सुलभ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालका अनुसार कम्पनीले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनमार्फत ग्राहकलाई सहज र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको छ। यही पूर्वाधारले कम्पनीलाई नेपालमा विश्वसनीय विद्युतीय सवारी प्रदायकका रूपमा स्थापित गर्न सहयोग पुगेको उनले बताए।
करिब १५० जनाको सहभागिता रहेको उद्घाटन कार्यक्रममा नयाँ सवारी खरिद गरेका ग्राहकलाई सवारीसाधनको साँचोसमेत हस्तान्तरण गरिएको थियो।
कम्पनीले पोखरापछि भरतपुरमा पनि मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको उल्लेख गर्दै आगामी दिनमा उपत्यकाबाहिरका अन्य शहरमा समेत आफ्नो सञ्जाल विस्तार गर्ने योजना रहेको जनाएको छ।













