१४ श्रावण २०८३, बिहिबार

नागार्जुन नगरपालिकाका उद्यमीलाई धितोबिनै २ लाख रुपैयाँसम्म कर्जा



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच स्थानीय उद्यम प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिनै अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ अनुसार योग्य ऋणीले कर्जामा लाग्ने ब्याजमा शतप्रतिशत अनुदान सुविधा प्राप्त गर्नेछन्।

बैंकका अनुसार स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई यस सम्झौताले थप मजबुत बनाएको छ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारी तथा नगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।