एनएमबि बैंकले सुरु गर्यो सेकन्ड ह्यान्ड विद्युतीय सवारी कर्जा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई लक्षित गर्दै सेकन्ड–ह्यान्ड (पुराना) विद्युतीय सवारीसाधन खरिदका लागि नयाँ कर्जा सुविधा सुरु गरेको छ।
बैंकका अनुसार ‘सेकन्ड–ह्यान्ड ईभी कर्जा’ सुविधामार्फत ग्राहकले पुराना चारपाङ्ग्रे विद्युतीय सवारी खरिद गर्न सहज वित्तीय पहुँच प्राप्त गर्नेछन्। दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले यस योजनाले नेपालमा विद्युतीय सवारीको प्रयोगलाई थप सहज र किफायती बनाउने विश्वास व्यक्त गरेको छ।
यो कर्जा सुविधा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपलब्ध हुने बैंकले जनाएको छ। ग्राहकले देशभर रहेका एनएमबि बैंकका शाखा कार्यालय वा बैंकका डिजिटल माध्यममार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।
बैंकले वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्दै ग्राहकको आवश्यकता अनुरूप नवीन तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुसार यो योजना ल्याएको जनाएको छ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १८७ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।













