साहस ऊर्जाको नाफामा ५१ प्रतिशतको छलाङ, विद्युत बिक्रीबाट २ अर्ब ८४ करोड आम्दानी
काठमाडौँ । साहस ऊर्जा लिमिटेडले एक वर्षमा विद्युत बिक्रीबाट २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष कम्पनिकाे विद्युत बिक्रीबाट हुने आम्दानी ७.४२ प्रतिशत बढेकाे हाे ।
अघिललाे आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ विद्युत बिक्री गरेर आम्दानी गरेको थियाे ।
विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८९ करोड ५१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ५१.८४ प्रतिशतले नाफा बढाएर १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ ।
यसैगरी, कम्पनीको कुल नाफा र सञ्चालन नाफामा पनि राम्रो सुधार देखिएको छ । समीक्षा वर्षमा कम्पनीको कुल नाफा ७.९८ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ थियो । त्यस्तै, सञ्चालन नाफा १४.८० प्रतिशतले वृद्धि भई १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको कुल आम्दानी ९.६२ प्रतिशतले बढेर २ अर्ब २ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको सेयर पुँजी २१ प्रतिशतले वृद्धि भई ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष तथा सञ्चित नाफा १६.३९ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ । नाफामा आएको आकर्षक वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि २३ रुपैयाँ ६८ पैसाबाट ६ रुपैयाँ ४ पैसाले बढेर २९ रुपैयाँ ७२ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २१.४० गुणा कायम भएको छ ।













