१७ श्रावण २०८३, आइतबार

आइएमई लाइफको ‘व्यवसाय उत्कृष्टता सम्मान समारोह २०२६’ सम्पन्न, उत्कृष्ट बीमा अभिकर्ता सम्मानित



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘व्यवसाय उत्कृष्टता सम्मान समारोह २०२६’ सम्पन्न गरेको छ। श्रावण १५ गते शुक्रबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बीमा अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बीमा अभिकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३५० भन्दा बढी बीमा अभिकर्ताको सहभागिता रहेको थियो। कम्पनीले बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धि, हौसला प्रदान तथा उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

समारोहमा आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको प्रगतिमा बीमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोगले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी दिनमा पनि आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै बीमा अभिकर्तालाई थप प्रभावकारी सेवा र सहयोग उपलब्ध गराइने उल्लेख गरे।

आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै प्रविधिमैत्री सेवा प्रवाहमा कम्पनीले निरन्तर अग्रसरता देखाएको धारणा राखे।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले केवल बीमा बिक्री गर्ने व्यक्ति नभई दक्ष बीमा परामर्शदाताका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए। त्यसका लागि स्वअध्ययनसँगै कम्पनीले नियमित तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरे।

प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको उल्लेखनीय व्यावसायिक सफलतामा बीमा अभिकर्ताको भूमिका निर्णायक रहेको बताए। उनले आगामी दिनमा पनि अभिकर्तामैत्री योजना, समयानुकूल सेवा सुधार तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेर कम्पनीलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरे।

समारोहमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने तथा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने बीमा अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।