माइडिया एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षसम्म जर्सीमा देखिने लोगो
काठमाडौं । विश्वव्यापी घरेलु विद्युतीय उपकरण तथा प्रविधि ब्रान्ड माइडिया विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाको मुख्य साझेदार बनेको छ। पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत माइडिया सन् २०२६/२७ सिजनदेखि एफसी बार्सिलोनाको ‘मुख्य साझेदार’ तथा ‘आधिकारिक घरेलु विद्युतीय उपकरण साझेदार’का रूपमा आबद्ध भएको हो।
सन् २०३०/३१ सिजनसम्म रहने यो सहकार्य १ जुलाई २०२६ देखि लागू भएको कम्पनीले जनाएको छ। यसअन्तर्गत एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल तथा प्रशिक्षणका क्रममा प्रयोग गर्ने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो रहनेछ। क्लबले सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा पहिलो पटक माइडियाको लोगो समावेश गरिएको छ।
कम्पनीका अनुसार यो सहकार्य जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन। आगामी पाँच सिजनसम्म दुवै संस्थाले संयुक्त सामग्री निर्माण, खेलदिवसका गतिविधि, समर्थक सहभागिता तथा विभिन्न बजारलाई लक्षित अभियान सञ्चालन गर्नेछन्। खेलकुद, प्रविधि र आधुनिक जीवनशैलीलाई जोड्दै विश्वभरका उपभोक्ता तथा फुटबल समर्थकसँग सम्बन्ध थप मजबुत बनाउने लक्ष्य राखिएको जनाइएको छ।
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान तथा नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता क्लबको दीर्घकालीन सोचसँग मेल खाने बताए।
त्यस्तै, माइडिया अन्तर्राष्ट्रिय व्यवसायका अध्यक्ष लुइस फुले विश्वकै लोकप्रिय फुटबल क्लबमध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
कम्पनीका अनुसार उक्त साझेदारीले नेपालका बार्सिलोना समर्थकलाई पनि आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको लोगो प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्नेछ। यसबाट माइडियाको विश्वव्यापी ब्रान्ड पहिचान थप सुदृढ हुनुका साथै नेपाली बजारमा पनि यसको उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
सन् १९६८ मा स्थापना भएको माइडिया घरेलु विद्युतीय उपकरण तथा स्मार्ट होम प्रविधि क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय कम्पनी हो। कम्पनीले रेफ्रिजरेटर, धुने मेसिन, भाँडा धुने मेसिन, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, एयर प्युरिफायरलगायत विभिन्न स्मार्ट घरेलु उपकरण उत्पादन गर्दै आएको छ।
नेपालमा माइडियाका उत्पादनको आधिकारिक बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ।













