सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘भर्जन नेक्स्ट’ प्रणाली सार्वजनिक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न गरेको छ।
साउन १६ गते काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी सहभागीको उपस्थिति रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरू सहभागी भएका थिए।
कार्यक्रमकै अवसरमा कम्पनीले आफ्नो नयाँ आई–सोलुसन प्रणाली ‘भर्जन नेक्स्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको शुभारम्भ गरेका हुन्।
कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित उक्त प्रणालीले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउन सहयोग गर्नेछ। यससँगै कम्पनीले डिजिटल रूपान्तरण र प्रविधिमैत्री सेवाप्रतिको प्रतिबद्धतालाई पुनः दोहोर्याएको जनाएको छ।
कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। यस्तै, हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो।
यस अवसरमा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (सीएमओ) भूषण रिमालले कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना र नेतृत्व विकासबारे धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।
पुरस्कारतर्फ बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट शाखाको उपाधि जित्यो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित भए भने नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर बने। गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता र दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भए।
कम्पनीका अनुसार सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सम्मान, प्रेरणा, मनोरञ्जन र प्रविधिको संयोजन गरिएको थियो। यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई थप प्रोत्साहन गर्दै बीमा सेवाको पहुँच विस्तार र गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।













