सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया सुरु, प्रारम्भिक सम्झौतामा हस्ताक्षर
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिने प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्।
दुवै संस्थाले आज साउन १८ गते मर्जरका लागि प्रारम्भिक समझदारीपत्र एमओयूमा हस्ताक्षर गरेसँगै आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्। यस सम्बन्धमा सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत औपचारिक जानकारी गराएको छ।
संस्थाका अनुसार नेपाल राष्ट्र बैंकले जारी गरेको गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर प्रक्रिया अगाडि बढाइएको हो।
मर्जर प्रक्रिया सम्पन्न भई सम्बन्धित साधारणसभाबाट आवश्यक निर्णय नहुँदासम्म संस्थापक समूहका सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरिएको छ।













