ग्यासमा कालोबजारीको आशंकापछि डिपोमा सादा पोसाकधारी प्रहरीले बढायाे निगरानी
काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई ठग्ने प्रयास भइरहेको आशंकापछि सरकारले कडा निगरानी थालेको छ।
भारतबाट ग्यास आयात नियमित रहे पनि बजारमा अभाव देखिन थालेपछि गृह र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी खटाइएको छ।
ग्यास मौज्दात राखेर उपभोक्तालाई खाली सिलिन्डर फर्काउने, लुकाएर महँगो मूल्यमा बिक्री गर्ने तथा कृत्रिम संकट देखाउने गुनासा बढेपछि उद्योगमन्त्री गौरी यादवले गृहमन्त्री सुदन गुरुङसँग तत्काल हस्तक्षेपका लागि आग्रह गरेकी थिइन्। त्यसपछि आइतबार बिहानदेखि प्रहरीले ग्राहककै रूपमा डिपो र बिक्री केन्द्रमा निगरानी सुरु गरेको हो।
ग्यास लुकाउने, कृत्रिम अभाव देखाउने वा तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने व्यक्ति तथा व्यवसायीमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ। उपत्यकामा भइरहेको अनुगमनको नतिजाका आधारमा आवश्यक परे देशका अन्य जिल्लामा पनि यस्तै निगरानी विस्तार गर्ने तयारी गरिएको छ।
सरकारले ग्यास आपूर्ति सामान्य रहेको भन्दै उपभोक्तालाई नआत्तिन र कालोबजारी देखिए तत्काल प्रशासनलाई जानकारी गराउन समेत आग्रह गरेको छ।













