२५ श्रावण २०८३, सोमबार

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ब्रान्च मेनेजर्स कन्फरेन्स सम्पन्न गरेको छ।

गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा आयोजित सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिका विषयमा छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले बजारअनुसार आफूलाई तयार पार्दै व्यवसाय प्रवद्र्धन गर्नुपर्ने बताइन्।

उनले कर्मचारीको क्षमता विकासका लागि कम्पनीले निरन्तर लगानी गर्दै आएको बताउँदै आगामी दिनमा पनि तालिम तथा प्रशिक्षणलाई प्राथमिकता दिने उल्लेख गरिन्। पछिल्लो समय विश्वभर चर्चामा रहेको कृत्रिम बौद्धिकता (एआई) ले जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएकाले यसको प्रयोगमार्फत डिजिटल मार्केटिङलाई प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नयाँ आर्थिक वर्षसँगै कम्पनीले नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात गरेको बताए। उनले नयाँ आर्थिक वर्ष केवल पात्रो परिवर्तनको समय नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्‍याउने अवसर भएको उल्लेख गरे।

सम्मेलनमा कम्पनीका विभागीय प्रमुख, देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना रहेकाले सबै तहका कर्मचारीलाई यस विषयमा सचेत र जिम्मेवार भएर काम गर्न उनले आग्रह गरे।

त्यस्तै, एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले विभिन्न एआई उपकरणको प्रयोग, डिजिटल माध्यमबाट बीमा व्यवसायको प्रभावकारी मार्केटिङ तथा व्यवसाय प्रवद्र्धनमा एआईको उपयोगबारे प्रशिक्षण दिएका थिए।

श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए।

सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।

चेयरपर्सन क्लब तथा सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको थियो।

सम्मेलनमा कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य मजबुत बनाउने उद्देश्यले सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै ब्याडमिन्टन, टेबल टेनिस र म्युजिकल चेयरलगायतका प्रतियोगिता आयोजना गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए।

कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्न तथा शाखा र केन्द्रीय कार्यालयका कर्मचारीबीच समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धता थप मजबुत बनाउन सहयोग पुगेको छ।