एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी
काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेडबीच डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ।
सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो भने साझेदारीअन्तर्गतका सेवा साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएका हुन्। देशभर ५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको एनएमसी-कोअपले अब एमबैंकको डिजिटल प्लेटफर्ममार्फत थप वित्तीय सेवा उपलब्ध गराउने भएको छ।
साझेदारीपछि एनएमसी-कोअपका सदस्यले एउटै मोबाइल एपमार्फत मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, रकम स्थानान्तरण, युटिलिटी बिल भुक्तानी, डिजिटल भुक्तानी तथा केवाइएम अद्यावधिकलगायतका सेवा लिन सक्नेछन्।
डिजिटल ऋण सेवामा पनि साझेदारीले विशेष जोड दिएको छ। चरणबद्ध रूपमा सदस्यले मुद्दती तथा आवधिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण हेर्ने तथा नयाँ ऋणका लागि आवेदन दिने सुविधा मोबाइल प्लेटफर्मबाटै प्राप्त गर्न सक्नेछन्।
डिजिटल माध्यमबाट आवश्यक कागजात पेश गर्न तथा ऋण आवेदनको अवस्था हेर्न सकिने भएकाले ऋणका लागि शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।
एनएमसी मल्टिपर्पज को-अपरेटिभका प्रमुख कार्यकारी अधिकृत तथा हालै राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए।
उनले साझेदारीबाट सदस्यले सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले यो साझेदारी मोबाइल बैंकिङ सेवाको विस्तारमा मात्र सीमित नभई सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने पहल भएको बताए।
उनका अनुसार बैंकिङ, भुक्तानी र ऋण सेवालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गरी सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने उद्देश्य रहेको छ।
एमबैंकले ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ र ‘वन एप, मल्टिपल सर्भिसेज’ अवधारणाअनुसार सेवा विस्तार गर्दै आएको जनाएको छ। कम्पनीले सहकारी, लघुवित्त तथा वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने योजनाअनुसार साझेदारीलाई अघि बढाएको बताएको छ।
एमबैंकले एक दशकभन्दा बढी समयदेखि सहकारी, लघुवित्त संस्था तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, क्यूआर भुक्तानी तथा डिजिटल ऋणलगायतका प्रविधि समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।
एनएमसी-कोअपले बचत तथा ऋणसँगै कृषि, दुग्ध, चिया, रेमिट्यान्सलगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। संस्थाका अनुसार देशभर ५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिइँदै आएको छ।













