२६ श्रावण २०८३, मंगलबार

कुमारी बैंकले गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ सहयोग



काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि उक्त रकम सहयोग गरेको हो। सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिने बैंकले जनाएको छ।

नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका बालबालिकाले समेत उपचार सेवा लिँदै आएका छन्। बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सहयोग गरिएको बैंकको भनाइ छ।

बैंकका अनुसार सहयोगबाट नवजात शिशु तथा बालबालिकाको उपचार सेवाको गुणस्तर सुधार गर्न तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘समुदायका लागि कुमारी बैंक’ भन्ने अवधारणाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासलगायतका क्षेत्रमा सीएसआर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ रहेको जनाएको छ।