२६ श्रावण २०८३, मंगलबार

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन



काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीको उपस्थितिमा गरिएको हो।

नयाँ कार्यालयबाट प्रदेशका ग्राहकले बीमासम्बन्धी परामर्श, पोलिसी सेवा, दाबीसम्बन्धी सहजीकरण तथा ग्राहक सेवा लिन सक्नेछन्। त्यस्तै, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कम्पनीको योजना छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्नु यस क्षेत्रप्रतिको कम्पनीको दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताए।

उनका अनुसार नयाँ कार्यालयमार्फत ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध थप मजबुत बनाउँदै उनीहरूको आर्थिक सुरक्षामा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य छ।

कार्यालय सञ्चालनमा आएसँगै स्थानीय समुदायसँगको सहकार्य विस्तार हुनुका साथै बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ। प्रदेशभरका व्यवसायिक संस्था तथा विभिन्न निकायसँगको सहकार्य विस्तार गर्नसमेत कार्यालयले भूमिका खेल्ने जनाएको छ।

मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालन हुँदै आएको छ। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका बीमा योजना उपलब्ध गराउँदै आएको जनाएको छ।