सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि, अन्य सूचक कस्ता ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन र खुद नाफा घटेको छ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा तुलनात्मक रूपमा समीक्षा अवधिमा कुल बीमाशुल्क आर्जन ४.९१ प्रतिशतले घटेको हो।
यसैगरी, कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १०.७१ प्रतिशतले बढेको छ।
गत वर्ष कम्पनीकाे खुद नाफा २२.३७ प्रतिशतले घटेर ३१ करोड ३० लाख रुपैयाँमा सिमित भएकाे छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियाे ।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ४२ करोड १६ लाख रुपैयाँ खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो।
यस अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (इपीएस) ११ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ७२ पैसा कायम भएको छ।
२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ७५ लाख रुपैयाँ रहेको छ।













