खुद बीमाशुल्क र नाफा बढ्दा प्रभु इन्स्योरेन्सले आर्जन गर्यो २४ करोडभन्दा बढी खुद नाफा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत एक वर्षमा १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०३ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३ करोड़ ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन भने ६.४१ प्रतिशतले बढेर ६९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै, यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ५ करोड़ ३५ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लाे आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ३८ करोड ६ लाख रुपैयाँ खर्चिएको थियो ।
कारोबारमा केही गिरावट देखिए पनि कम्पनीको खुद नाफामा भने दोहोरो अंकको वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले २४ करोड़ ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २० करोड़ ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीको खुद नाफा १९.७१ प्रतिशतले बढेको हो।
१ अर्ब ८४ करोड रुपैयाँ शेयर पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १३ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ३४ करोड़ ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड़ ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड़ ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड़ ४१ लाख रुपैयाँ सञ्चित रहेको छ।













