अघिल्लो वर्षको घाटालाई उल्टाउँदै ओरिएन्टल इन्स्योरेन्सले कमायो ४९ करोड नाफा, व्यवसायमा पनि वृद्धि
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले यस अवधिमा अघिल्लो वर्षको घाटालाई उल्टाउँदै उल्लेख्य नाफा कमाएको छ।
कम्पनीले समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीको वित्तीय संरचनातर्फ हेर्दा समीक्षा अवधिको अन्त्यसम्म स्पेसल रिजर्भमा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटीमा ९१ करोड ३७ लाख रुपैयाँ कायम रहेको छ।
अघिल्लो आर्थिक वर्षमा स्पेसल रिजर्भ १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोष ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड १९ लाख रुपैयाँ थियो। त्यसबेला रिटेन्ड अर्निङ भने ६ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
कम्पनीको बीमा कोष पनि समीक्षा अवधिमा उल्लेख्य विस्तार भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कोषको आकार ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेकोमा एक वर्षमै १७७.२९ प्रतिशत वृद्धि भएको हो।
यस्तै, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको २ अर्ब ६० करोड १४ लाख रुपैयाँको तुलनामा कुल बीमाशुल्क आर्जन ८.५२ प्रतिशतले बढेको देखिन्छ।
त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब २७ करोड ८३ लाख रुपैयाँभन्दा २४.७९ प्रतिशत बढी हो।
समग्रमा, नाफामा भएको सुधारसँगै बीमा कोष, कुल बीमाशुल्क र खुद बीमाशुल्क आर्जनमा भएको वृद्धिले गत आवमा ओरिएन्टल इन्स्योरेन्सको वित्तीय तथा व्यावसायिक अवस्थामा सुधार आएको देखाउँछ।













