लाभांश क्षमतामा एभरेष्ट ‘सधैँ टपर’, १६ वाणिज्य बैंक प्रतिफल बाँड्ने हालतमा
काठमाडाैँ । साउन मसान्त भनेपछि किसानहरूका लागि यसकाे अलग्गै महत्व हाेला, तर त्यही किसान र उसका सन्ततीहरू जब शेयर बजारका लगानीकर्ता बन्छन्, त्यसपछि याे मितिकाे मतलव पनि बदलिन्छ । नेपालमा डिम्याट खाता खाेलेका ८० लाख ४० हजारभन्दा बढी र त्यसमा पनि मेराे सेयरमा सकृय रहेका ५१ लाखभन्दा बढी मानिसका लागि याे समय कम्पनीहरूकाे लाभांश क्षमता जाँच्ने माैसम हाे ।
हिजाेसम्ममा देशका सबै ठूला बैंकले वर्ष २०८३/८३ काे चाैँथाे त्रैमासिक प्रतिवेदनहरू सार्वजनिक गरिसकेका छन् । यससँगै वाणिज्य बैंकहरूकाे लाभांश क्षमता मापन गर्ने सिलसिला पनि सुरू भएकाे छ ।
पछिल्ला केही वर्षजस्तै याे साल पनि २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै प्रतिफल बाँड्न सक्ने सामर्थ्य एभरेष्ट बैंकले हासिल गरेकाे छ । उसकाे प्रतिशेयर वितरणयाेग्य मुनाफा ३८ रूपैयाँ ३२ पैसा पुगेकाे छ । त्यसपछि सानिमा बैंककाे २० रूपैयाँ ८५ पैसा छ भने नबिल र नेपाल एसबीआई बैंकले १९ प्रतिशत प्रतिफल बाँड्ने सामर्थ्य बनाएका छन् ।
सरकारी स्वामित्वकाे नेपाल बैंकले १५.८४ प्रतिशतकाे लाभांश क्षमता तयार पारेकाे छ । १५ प्रतिशतभन्दा माथि लभांश क्षमता भएका ५ वाणिज्य बैंकमा याे पनि पर्छ । ग्लाेबल आईएमइले १२ र सिध्दार्थले ११.५३ प्रतिशत लाभांश क्षमता बनाएका छन् । तर सिध्दार्थले उसकाे डिबेञ्चर परिपक्व भइसकेकाे अवस्थामा पहिलेदेखि नै डिबेञ्चरका लागि भनेर छुट्याएकाे पैसा अब शेयरधनीलाई बाँड्न मिल्ने अवस्था आएकाे छ ।
‘क्यापिटल रिडेम्प्सन रिजर्भ’ भनिने खाताबाट ‘क्यापिटल एड्जस्टमेन्ट रिजर्भ’ भन्ने अर्काे खातामा पैसा ‘ट्रान्सफर’ गरेपछि अब त्याे पैसा शेयरधनीलाई बाँड्न पाइन्छ । याे पैसासमेत जाेड्दा सिध्दार्थ बैंककाे लाभांश क्षमता बढेर २६.१५ प्रतिशत पुग्छ । याे भनेकाे एभरेष्ट बैंक पछिकाे दाेश्राे उच्च हाे ।
यहाँ एभरेष्ट बैंक सधैँ सुपरस्टार भइरहनुका पछाडी उसकाे खास रणनीति पनि मुख्यक कारण हाे । याे बैंकले अघिल्लाे साल पनि झण्डै ३८ प्रतिशतकाे लाभांश क्षमता हासिल गरेकाे थियाे । तर उसले २० प्रतिशतमात्रै लाभांश बाँड्याे । यसरी सुरूमै उसँग १८ प्रतिशत लाभांश बाँड्ने क्षमता थियाे । तर अरू बैंकले यसरी कमाइ गर्न सकेनन् । उनीहरूले जति नाफा प्राप्त हुन्छ, त्यसकाे धेरै हिस्सा बाँड्न खाेजे । त्यति हुँदा पनि थुप्रै बैंक लाभांश बाँड्ने हालतमा छन् ।
नेपाल एसबीआई पनि १० प्रतिशतभन्दा माथिकाे लाभांश क्षमता हासिल गरेर बसेकाे छ । ५ देखि १० प्रतिशत लाभांश क्षमता हासिल गर्ने बैंकहरूमा एनएमबी, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे र लक्ष्मी सनराइज छन् । सिटिजन्स र कुमारी बैंकले ५ प्रतिशतभन्दा कमकाे लाभांश क्षमता बनाएका छन् ।
गत सालकाे तुलनामा याे वर्ष २० मध्ये ९ बैंककाे लाभांश क्षमता बढेकाे छ । ७ बैंककाे लाभांश क्षमता घटेकाे छ, तर उनीहरूकाे स्थिति धनात्मक नै देखिन्छ । अरू ४ बैंक (नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभू, हिमालयन र एनआईसी एसिया) काे वितरणायाेग्य नाफा ऋणात्मक देखिएकाे छ । त्यसमा पनि एनआईसीकाे १४ अर्ब ८६ कराेड र हिमालयनकाे ९ अर्ब ८४ कराेड घाटा छ । प्रभूकाे ६ अर्ब ३१ कराेड र एनआईएमबीकाे ५ अर्बभन्दा बढी घाटा छ ।
अंककाे मात्रै हिसाब गर्ने हाे भने एभरेष्ट नै ५ अर्ब २५ कराेडभन्दा बढी वितरणयाेग्य नाफा बाेकेर बसेकाे छ । उसलाई पच्छ्याइरहेकाे नबिलले ५ अर्ब १७ कराेड हाराहारी नाफा कमाएकाे छ । तर नबिलकाे चुक्ता पूँजी निकै धेरै भएकाले लाभांश दरमा एभरेष्ट साँच्चै सगरमाथाजस्तै उँचाे देखिएकाे हाे ।
साढे ४ अर्बभन्दा बढी वितरणयाेग्य नापफा कमाएकाे ग्लाेबल तेस्राे छ भने २ अर्ब ८३ कराेड नाफा कमाएकाे सानिमा चाैँथाे । २ अर्ब ३२ कराेड नाफा समेटेकाे नेपाल बैंक पनि शीर्ष ५ मा परेकाे छ । स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्शियल, एनएमबी, लक्ष्मी सनराइज, सिध्दार्थ, कृषि विकास, नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंक भने १ देखि २ अर्बकाे बीचमा नाफा कमाउने कम्पनी बनेका छन् ।













