३ भदौ २०८३, बुधबार

रूपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । रूपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी दुई पक्षीय सम्झौता एनआईसी एशिया क्यापिटल र रूपाकोट रिसोर्टबीच सम्पन्न भएको हो। सम्झौताअनुसार क्यापिटलले प्रचलित कानुनबमोजिम रूपाकोट रिसोर्टलाई आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ।

कास्कीको रूपा गाउँपालिका–६, मैदानमा कार्यालय रहेको रूपाकोट रिसोर्ट पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित गन्तव्यका रूपमा परिचित छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको दृश्य तथा रूपा र बेगनास तालको अवलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ।

पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रूपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य, प्रकृति अवलोकन र विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रिसोर्टले लिएको छ।

रिसोर्टले आधुनिक सुविधालाई स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशसँग समायोजन गर्दै आवास, खानपिन, मनोरञ्जन तथा विश्रामका सुविधा उपलब्ध गराउँदै आएको छ। विभिन्न कार्यक्रम सञ्चालनका लागि पूर्वाधारसमेत रहेको रिसोर्ट पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा अन्य विशेष समारोहका लागि उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीले जनाएको छ।

एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईपीओ टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि प्राथमिक शेयर निष्कासनसम्म आवश्यक पर्ने परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ। यस सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नेदेखि साधारण शेयर निष्कासनसम्मका प्रक्रियामा आवश्यक परामर्श उपलब्ध गराइने क्यापिटलले जनाएको छ।

उक्त सेवा लिन इच्छुक कम्पनीले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई ९८५११८४९७९ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।