उत्साहित गभर्नर अकस्मात् समारोह छाडेर हिँडेपछि…
काठमाडौँ । बुधबार काठमाडौँको बालुवाटारस्थित गरिमा विकास बैंकको नयाँ ‘हेडक्वार्टर’ उद्घाटनका क्रममा अनौठो दृश्य देखियो । कार्यक्रमको प्रमुख अतिथि बनेर पुगेका राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल सुरुमा निकै उत्साहित देखिन्थे ।
उनले रिबन काटेर नयाँ भवनको उद्घाटन गरे । उनले भवनको अवलोकन पनि गरे । पाँचौँ तलामा रहेको सञ्चालक समितिको बैठक कक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यालय घुमेर हेरे । त्यहाँको बाहिरी बरण्डामा निस्केर सीधा अघिल्तिर बालुवाटारको केन्द्रीय बैंक नियाले ।
राष्ट्र बैंक र बालुवाटार वरपर अझै पनि ‘ग्रीनरी’ (हरियाली) कायम रहेको भनेर टिप्पणी गरे र मन्द मुस्कान दिए । प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई केही ‘कम्लिमेण्ट’ पनि दिए– ‘तपाईँले स्याङ्जाको पहिचान देखिने केही कुराहरु राख्नुहोला ।’
बैंकका सञ्चालक समिति अध्यक्ष दिलिपप्रकाश खाँडले शीर हल्लाएर गभर्नरको भनाई स्वीकार गरे । यसरी उत्साहित देखिएका गभर्नर सार्वजनिक मञ्चमा आफ्नो वक्तव्य दिन त टाढाको कुरा, औपचारिक रुपमा शुभकामना दिन पनि अनिच्छुक देखिए ।
प्रमुख अतिथिको रुपमा आशन ग्रहण गरेका गभर्नर पौडेलले अध्यक्ष खाँडको स्वागत मन्तव्य सुनेर भवन उद्घाटन गर्न गएका थिए । उद्घाटनपछि भवनको अवलोकन गरेर उनी पुन: मञ्चमा फर्किएनन् । यस्ता कार्यक्रममा पुगेपछि गभर्नरहरुले औपचारिक रुपमा शुभकामना तथा बधाईको मन्तव्य दिने आम चलन थियो ।
यसअघिका सबै गभर्नरले यस प्रकारका कार्यालय उद्घाटनमा शुभकामनाका साथै समसामयिक वित्तीय बजार र समष्टिगत अर्थतन्त्रका सवालमा आफ्नो लामो मन्तव्य दिने गरेका थिए । तर पौडेलले अकस्मात् समारोह नै छाडेर हिँड्ने निर्णय लिए ।
यस घटनापछि कार्यक्रममा उपस्थित व्यक्तिहरु आश्चर्यमा परेका छन् । गभर्नरको यो गतिविधिलाई लिएर कार्यक्रममा सहभागीहरुले विभिन्न अड्कलबाजी लगाएका छन् । उनीहरुका अनुसार पछिल्ला केही मन्तव्यहरु विवादित बनेपछि गभर्नर सार्वजनिक मञ्चमा बोल्नबाट बच्ने कोसिसमा देखिएको हुनसक्ने धेरैको अड्कल छ ।
अर्काथरी भने सरकारमा प्रधानमन्त्री र अर्थमन्त्रीको मतभिन्नताबीच गभर्नरले प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्ध बनाएर विभागीय मन्त्रीलाई बेवास्ता गरिरहेको सन्देश बजारमा प्रवाह भएकाले उनी भाषणका लागि रोस्टममा उभिएको खण्डमा ‘जिब्रो चिप्लिएर’ गल्ति होला कि भन्ने संशयले कार्यक्रम त्यागेर हिँडेको अनुमान लगाउँछन् ।
कारण जेसुकै भए पनि गभर्नरको आजको शैली अलि अस्वाभाविक र अलमल्याउने खालको भएको कार्यक्रममा सहभागीहरुको भनाइ छ ।













