३ भदौ २०८३, बुधबार

उत्साहित गभर्नर अकस्मात् समारोह छाडेर हिँडेपछि…



काठमाडौँ । बुधवार काठमाडौँको बालुवाटारस्थित गरिमा विकास बैंकको नयाँ ‘हेडक्वार्टर’ उद्घाटनका क्रममा अनौठो दृश्य देखियो । बैंक व्यवस्थापनले निक्कै तयारी र उत्साहको साथ आयोजना गरेका कार्यक्रममा तोकिएको समयभन्दा केही मिनेटमात्र ढिला पुगे गभर्नर डा. विश्वनाथ पौडेल । 

कार्यक्रमको प्रमुख अतिथि बनेर पुगेका राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल सुरुमा निकै उत्साहित देखिन्थे । उनले बैंकको केन्द्रीय कार्यालय उद्घाटन गर्दै सीईओ र अध्यक्षलाई निक्कै राम्रो काम भन्दै प्रशंसासमेत गरे । 

उनले रिबन काटेर नयाँ भवनको उद्घाटन गरे । भवनको पाँचौँ तलामा रहेको सञ्चालक समिति बैठक कक्ष र सीईओको कार्यकक्ष पनि अवलोकन पनि गरे । त्यहाँको बाहिरी बरन्डामा निस्केर सीधा अघिल्तिर बालुवाटारको केन्द्रीय बैंक नियाले ।

राष्ट्र बैंक र बालुवाटार वरपर अझै पनि ‘ग्रीनरी’ (हरियाली) कायम रहेको भनेर टिप्पणी गरे र मन्द मुस्कान दिए । प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई केही ‘कम्लिमेण्ट’ पनि दिए– ‘तपाईँले स्याङ्जाको पहिचान देखिने केही कुराहरू राख्नुहोला ।’ 

बैंकका सञ्चालक समिति अध्यक्ष दिलीपप्रकाश खाँडले शिर हल्लाएर गभर्नरको भनाई स्वीकार गरे । स्याङ्जालीले खोलेको बैंक राम्रो स्याङ्जा जाने बाटो नराम्रो भनेर उनले कमेन्ट पनि गर्न भ्याए । गभर्नर भएको दोस्रो वर्षमा पहिलोपल्ट प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष अवलोकन गरेको पनि अनुभव सुनाए । 

यसरी उत्साहित देखिएका गभर्नर सार्वजनिक मञ्चमा आफ्नो वक्तव्य दिन त टाढाको कुरा, औपचारिक रूपमा शुभकामना दिन पनि अनिच्छुक देखिए । त्यति मात्र होइन कार्यक्रम आयोजना गरिएको बैंक प्राङ्गणमा बनाइएको भव्य मञ्चमा उनी दोहो¥याएर फर्किएनन् । 

कार्यक्रम संचालक अनिता विन्दु अकमकिइन् । कसलाई बोल्न दिने भनेर । सिईओ माधव उपाध्यायले गभर्नर साहेब बोर्ड बैठक छ भनेर जानुभयो भनेपछि मञ्चमा एकाएक सन्नाटा छायो । अरू अतिथिहरू पनि फात्त फुत्त हिँड्न थाले । 

कार्यक्रमको फर्म्याटनै चेन्ज गर्दै विशेष अतिथि रहेका धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टलाई बोल्न दिइयो ।  

प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरेका गभर्नर पौडेलले सीईओ माधव प्रसाद उपाध्यायको स्वागत मन्तव्य सुनेर भवन उद्घाटन गर्न गएका थिए । उद्घाटनपछि भवनको अवलोकन गरेर उनी पुनः मञ्चमा फर्किएनन् । यस्ता कार्यक्रममा पुगेपछि गभर्नरहरूले औपचारिक रूपमा शुभकामना तथा बधाईको मन्तव्य दिने आम चलन थियो ।

यसअघिका सबै गभर्नरले यस प्रकारका कार्यालय उद्घाटनमा शुभकामनाका साथै समसामयिक वित्तीय बजार र समष्टिगत अर्थतन्त्रका सवालमा आफ्नो लामो मन्तव्य दिने गरेका थिए । तर पौडेलले अकस्मात् समारोह नै छाडेर हिँड्ने निर्णय लिए ।

यस घटनापछि कार्यक्रममा उपस्थित व्यक्तिहरू आश्चर्यमा परेका छन् । गभर्नरको यो गतिविधिलाई लिएर कार्यक्रममा सहभागीहरूले विभिन्न अड्कलबाजी लगाएका छन् । उनीहरूका अनुसार पछिल्ला केही मन्तव्यहरू विवादित बनेपछि गभर्नर सार्वजनिक मञ्चमा बोल्नबाट बच्ने कोसिसमा देखिएको हुनसक्ने धेरैको अड्कल छ ।

अर्का थरी भने सरकारमा प्रधानमन्त्री र अर्थमन्त्रीको मतभिन्नताबिच गभर्नरले प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्ध बनाएर विभागीय मन्त्रीलाई बेवास्ता गरिरहेको सन्देश बजारमा प्रवाह भएकाले उनी भाषणका लागि रोस्टममा उभिएको खण्डमा ‘जिब्रो चिप्लिएर’ गल्ती होला कि भन्ने संशयले कार्यक्रम त्यागेर हिँडेको अनुमान लगाउँछन् ।

कारण जेसुकै भए पनि गभर्नरको आजको शैली अलि अस्वाभाविक र अलमल्याउने खालको भएको कार्यक्रममा सहभागीहरूको भनाइ छ ।