स्याङ्जाबाट सुरु भएको गरिमाको गौरवपूर्ण यात्रा : बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय उद्घाटन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले राजधानीको बालुवाटारमा निर्माण गरेको आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित विशेष समारोहबीच नयाँ केन्द्रीय कार्यालयको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेका थिए भने उद्घाटन कार्यक्रमको समापन धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले गरेका हुन्।
२०६४ सालमा स्याङ्जाबाट तीन जिल्लालाई आधार बनाएर सुरु भएको गरिमा विकास बैंकको यात्रा अहिले राष्ट्रियस्तरको बैंकिङ संस्थाका रूपमा विस्तार भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले विभिन्न वित्तीय संस्थासँगको मर्जर तथा एकीकरणपछि बैंकको उपस्थिति हिमाल, पहाड र तराईसम्म विस्तार भएको बताए।
उनका अनुसार संस्थाको विस्तारसँगै बैंकको वित्तीय क्षमता र ग्राहकको विश्वास पनि बढ्दै गएको छ। लाजिम्पाटस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको गरिमा विकास बैंक अब बालुवाटारस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ।
स्याङ्ग्जाको वालिङबाट शुरु भएको गरिमाको गौरवपुर्ण यात्रा
२०६४ सालमा स्याङ्ग्जाको वालिङबाट ९ जनाले शुरु गरेको बैंक सहरी क्षेत्र हुँदै अहिले देशभर विस्तार भएको छ। हाल बैंकका ३७ जिल्लामा १२६ शाखा सञ्चालनमा छन् भने संस्थामा १ हजार ५२ जना कर्मचारी कार्यरत रहेका छन्। बैंकका अनुसार संस्थासँग जोडिएका सेयरधनीको संख्या पनि करिब एक लाख पुगेको छ।
गरिमा विकास बैंकले स्थापना हुँदा २ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजीबाट यात्रा सुरु गरेको थियो। अहिले बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब २ करोड रुपैयाँ पुगेको छ। बैंकले निक्षेपतर्फ पनि उल्लेख्य वृद्धि गरेको जनाएको छ। हाल बैंकको कुल निक्षेप १ खर्ब रुपैयाँ पुगेको कार्यक्रममा जानकारी दिइयो।
सीईओ उपाध्यायले बैंकमा जम्मा भएको रकमलाई केवल वित्तीय स्रोतका रूपमा मात्र नहेरी ग्राहकको विश्वाससँग जोडेर हेर्नुपर्ने बताए। “निक्षेपकर्ताले बैंकमा पैसा मात्र होइन, आफ्नो भरोसा पनि राखेका छन्,” उनले भने।
नयाँ भवनसँगै संस्थागत सुशासनमा जोड
केन्द्रीय कार्यालय आफ्नै भवनमा सार्दै गर्दा बैंकले संस्थागत सुशासन, पारदर्शिता र विश्वसनीयतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बैंकलाई आगामी यात्राका लागि शुभकामना दिँदै सेवाग्राही तथा निक्षेपकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।
यसैबीच बैंकका अध्यक्ष दिलीप खड्काले ग्राहक, निक्षेपकर्ता तथा सेयरधनीको विश्वासलाई संस्थाको मुख्य आधारका रूपमा लिँदै आगामी दिनमा बैंकलाई थप सशक्त बनाउने प्रतिवद्धता जनाए। उनले विश्वसनीयता र पारदर्शितासँगै सकारात्मक सोच तथा टिम स्प्रिटलाई आत्मसात् गर्दै बैंकको संस्थागत विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।













